चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन्। बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताए।
अहिले बलियो सरकार भएको भन्दै उनले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताए। बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीनबुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उनको भनाइ छ। यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको सहिद घोषणाप्रति कुनै विवाद नरहेको उनले प्रस्ट्याए।
सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्ने लगायतका माग राखेका थिए।
२०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।