काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ८ लाख रुपैयाँसम्मको आयमा शून्य प्रतिशत कर लागू गर्नुपर्ने सुझाव दिएकाे छ।
सेजनले व्यक्तिगत आयकरको दर बढाउनुपर्ने, ८ लाख रुपैयाँसम्मकाे आयमा शून्य प्रतिशत कर, ८ देखि १२ लाख रुपैयाँसम्म १० प्रतिशत, १२ देखि १६ लाख रुपैयाँसम्म १५ प्रतिशत, १६ देखि १९ लाख रुपैयाँसम्म २० प्रतिशत कर, १९ देखि २४ लाख रुपैयाँसम्म २५ प्रतिशत कर र २५ लाख रुपैयाँमाथि ३० प्रतिशत भन्दा बढी कर लगाउन नहुने सुझाव दिएको हो।
यसैगरी, ५० लाखभन्दा बढी कारोबार हुने तर व्यवसाय कम देखिने कारोबारलाई अनिवार्य रुपमा भ्याटको दायरामा ल्याउनुपर्ने, करसम्बन्धी कानुनी व्यवस्था तथा न्याय प्रणाली विषयगत ऐनले निर्धारण गरेको कर तथा राजस्वका दरहरु एकसाथ परिवर्तन गर्न सक्ने विशेषाधिकार आर्थिक ऐनलाई दिइनु नहुने सुझाव पनि सेजनले दिएको छ। कच्चा पदार्थ, सहायक कच्चा पदार्थको आयातमा लाग्ने भन्सार दर र तयारी वस्तुमा लाग्ने भन्सार दरको बीचमा कम्तीमा दुई तह वा दोब्बर अन्तर हुनुपर्ने सुझाव समेत सेजनले दिएको छ।
ठूला उद्योग तथा व्यवसायका लागि दुई वर्षभित्र तिरिसक्नुपर्ने गरी ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, नयाँ ठूला उद्योग तथा व्यवसाय सञ्चालन गर्न चाहनेका लागि रोजगारी सिर्जना गरेको आधारमा तीनदेखि पाँच वर्षसम्म आयकरमा पूर्ण छुट, साना तथा मझौला उद्योगहरुलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने र साना तथा मझौला उद्योगलाई सरकारले ६ महिनासम्म भाडाबापत तिर्नुपर्ने रकम शतप्रतिशत अनुदान उपलब्ध गराउने र हालको लगानीको विश्लेषण गरी कम्तीमा ३३ प्रतिशत अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव पनि सेजनले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।