एजेन्सी–कोरोना भाइरस संक्रमितको सम्पर्कमा पुगेको पाइएपछि अमेरिकाको ह्वाइटहाउस कोरोनाभाइरस टास्कफोर्सका दुई सदस्य क्वारेन्टाइनमा बसेका छन्।
रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सीडीसी) का प्रमुख डा रबर्ट रेडफिल्ड आफैं क्वारेन्टाइनमा बसेका हुन्। अब उनले २ सातासम्म घरबाटै काम गर्नेछन्। फेडरल ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का आयुक्त स्टीफान हान पनि कोरोना पोजिटभ भएका व्यक्तिको सम्पर्कमा पुगेकाले सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
सीडीसीले विज्ञप्ति जारी गर्दै प्रमुख रेडफिल्ड स्वस्थ रहेको र कोरोनाको कुनै लक्षण नदेखिएको जनाएको छ भने एफडीए प्रमुख हानको परीक्षण गर्दा नेगेटिभ पाइएको जनाएको छ।
यसअघि ह्वाइटहाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ पुष्टि भएको थियो। त्यस्तै उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै राष्टपति र उपराष्टपतिको दैनिक कोरोना परीक्षण गर्ने निर्णय ह्वाइटहाउसले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।