एजेन्सी–विज्ञहरुले धेरै देशमा निकै न्यूनमात्र परीक्षण भएको भन्दै कोरोना संक्रमितको संख्या अझ बढ्ने चेतावनी दिएका छन्। विश्वभर संक्रमितको संख्या ४० लाख नाघेपछि विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्।
स्पेनलगायतका प्रभावित देशमा मृत्यु हुनेको संख्या घट्दै गए पनि लकडाउन खुकुलो बनाइँदा संक्रमणको अर्को चरण सुरु हुने पनि आँकलन गरिएको छ। हाल विश्वभर संक्रमितको संख्या ४० लाख २० हजार पुगेको छ भने २ लाख ७९ हजारको मृत्यु भएको छ।
फ्रान्समा मृतकको संख्या घट्दै गएर दैनिक ८० पुगेको छ भने त्यहाँ सोमबारदेखि लकडाउन खुकुलो बनाइँदैछ। दक्षिण अफ्रिकामा विपक्षीको विरोधका बाबजूद लकडाउन लम्ब्याइएको छ भने उत्तर कोरिया कोरोना संक्रमणबाट प्रभावित भएको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको प्रस्ताव गरेका छन्।
यसका साथै महामारीले विश्वबजार र आपूर्ति प्रणालीमा असर पर्दा विश्वभरका सरकारहरु आर्थिक संकटको सामना गरिरहेका छन्। एकजना वरिष्ठ चिनियाँ अधिकारीले महामारी विश्वभरका लागि ठूलो परीक्षा रहेको भन्दै यसले देशको सरकारी स्वास्थ्य प्रणालीका कमजोरी औंल्याइदिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।