एजेन्सी- रूसले ७५ औँ विजय दिवस कोभिड-१९ को अन्त्यपछि विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन्। ‘कोभिड-१९ महामारीको समाप्तिपछि देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ शानदार रुपमा मनाइने छ,' उनले भने।
क्रेमलिनको पर्खालबाहिर दोस्रो विश्वयुद्धमा तत्कालीन सोभियत संघको तर्फबाट युद्ध लड्ने क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूप्रति फूलमाला अर्पण गरेपछि पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘हामी विजय दिवसको सम्झनामा शानदार समारोह गर्नेछौं र यसले देशभक्त योद्धाहरूको सम्मान हुनेछ र यो राज्यको कर्तव्य हो।’
‘विजय दिवसको आत्मिक, नैतिक तथा उत्कृष्ट महत्व सधैं रहन्छ र यसप्रति हाम्रो दृष्टिकोण पवित्र छ। यो हाम्रो स्मृति र गौरव हो, हाम्रो देशको इतिहास, प्रत्येक परिवारको इतिहास हो,’ उनले रूसी जनतालाई विजय दिवसका अवसरमा बधाई तथा धन्यवाद ज्ञापन गरे।
रूसले मे ९ लाई हरेक वर्ष विजय दिवसका रूपमा मनाउने गर्छ र उक्त दिन राष्ट्रिय बिदा पनि दिइन्छ।
रूसबाट नाजी शासनको अन्त्य भएको घोषणा गर्दै यसै दिन वैधरूपमा एक कानूनी घोषणा गरिएको कागजातमा हस्ताक्षर गरिएको थियो। तत्कालीन सोभियत राष्ट्र रूसमा महान् देशभक्त युद्धलाई सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको अभिन्न अङ्गका रूपमा सम्झिने गरिन्छ।
विनाशकारी उक्त युद्धमा करीब दुई करोड ७० लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।