एजेन्सी–कोरोना भाइरस महामारीबाट ३० हजारभन्दा बढी मानिसको मृत्यु हुने मुलुकको संख्या ३ पुगेको छ। अमेरिका, बेलायत र इटालीमा ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको हो।
अमेरिकामा ७७ हजार १ सय ७८, बेलायतमा ३१ हजार ३ सय १५ र इटालीमा ३० हजार २ सय १ जनाको मृत्यु भएको हो।
बेलायतमा पछिल्लो २४ घण्टामा ६ सय २९ जनाको मृत्यु भएको छ। यहाँ कूल संक्रमितको संख्या २ लाख १२ हजार ६ सय २९ पुगेको छ। २४ घण्टामा यहाँ ४ हजार ६ सय २४ संक्रमित थपिएका हुन्। बेलायती स्वास्थ्यमन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म १६ लाख ३१ हजार ५ सय ६१ जनाको परीक्षण गरिएको छ भने २४ घण्टामा ९७ हजार २९ जनाको परीक्षण गरिएको छ, जुन सरकारको लक्ष्यभन्दा केही कम हो। सरकारले हरेक दिन १ लाख मानिसहरुको परीक्षण गर्ने लक्ष्य राखेको थियो।
नियमित ब्रिफिङमा बेलायती वातावरणमन्त्री जर्ज युस्टिसले कोरोना भाइरसका कारण खाना नपाउने मानिसहरुका लागि सरकारले राहतस्वरुप १ करोड ६० लाख पाउण्ड सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।