हेटौँडा– प्रदेश ३ को सरकारले प्रदेशसभा सदस्यको मर्यादाक्रमको टुङ्गो लगाएको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रतिनिधसभा, राष्ट्रियसभापछि मर्यादाक्रममा प्रदेशसभा रहने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
प्रदेशसभा सदस्यको मर्यादाक्रमका विषयमा प्रदेशसभा सदस्यले संसदमा प्रस्तावित विधेयकमा सहमति नजुटाएको अवस्थामा मन्त्रिपरिषद्को बैठकले यसको टुंगो लगाएको हो।
त्यस्तै बैठकले प्रदेशसभा सचिवको योग्यता, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को मस्यौदा विधेयक स्वीकृत गरेको छ। बैठकले सवारी साधन खरिद सम्बन्धमा मापदण्ड निर्धारण, २०७४ र सञ्चित कोष कार्यविधि स्वीकृत गरेको छ।
यसैगरी आकस्मिक कोष, २०७४ मस्यौदा गर्न अवधारणा पत्र स्वीकृत गरेको सरकारका प्रवक्ता ढुंगेलले जानकारी दिए।
बैठकले विनियोजित ऐन, २०७४ सम्बन्धी विधेयकको मस्यौदा गर्न सोसम्बन्धी अवधारणा पत्र र प्रादेशिक दुग्ध विकास बोर्ड ऐन, २०७४ स्वीकृत गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।