नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६१ कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ५२ पुगेको छ।
कोरोना प्रकोप सुरु भएयता भारतमा १ हजार ७ सय ८३ कोरोना संक्रमितको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालका अनुसार भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर ३ दशमलव ३ प्रतिशत रहेको छ भने उपचारपछि निको हुने दर २८ दशमलव ८३ प्रतिशत रहेको छ।
भारतमा कोरोना संक्रमणबाट हालसम्म १५ हजार २ सय ६६ कोरोना संक्रमित निको भएका छन्। कोरोना संक्रमणबाट अस्पताल भर्ना भएकामा ४ दशमलव १ प्रतिशत बिरामी आइसीयूमा रहेको, १ दशमलव १ प्रतिशत भेन्टिलेटरमा रहेको र ३ दशमलव ३ प्रतिशतलाई अक्सिजन आवश्यक रहेको सचिव अग्रवालले जानकारी दिए।
उनले अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमण र मृत्युदर कम रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।