बुटवल–प्रदेश नम्बर ५ प्रदेशसभाको भौतिक पुर्वाधार विकास समितिले प्रदेश गौरव लगायतका महत्वपूर्ण आयोजनाहरूको काम सामाजिक दुरी कायम गरेर सुचारू गर्न मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको बैठकले उक्त निर्देशन दिएको हो।
प्रदेश सरकारले सञ्चालन गरेका प्रदेश सडक र पालिका पहुँच मार्गको काम पनि सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको समिति सभापति आशा स्वर्णकारले बताइन् ।
बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई समेट्ने गरी बृहत्तर योजना बनाई कार्यान्वयन गर्न पनि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेकोे समिति सचिव सीता घिमिरेले जानकारी दिइन्।
प्रदेश सरकारबाट सञ्चालित योजनाहरू सूचीकृत गरेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ।
संघीय सरकारबाट हस्तान्तरण भइ आएका आयोजना कार्यान्वयन नगर्ने प्रदेश सरकारको निर्णय उपयुक्त नभएको भन्दै समितिले ती आयोजना पनि प्राथमिकताका साथ अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ।
आगामी आर्थिक वर्षको वजेट विनियोजन गर्दा समानुपातिक रूपमा गर्न पनि समितिले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।