एजेन्सी–अमेरिकाले कोरोना भाइरस संक्रमणपछि गठन गरेको ह्वाइटहाउस कोरोना टास्कफोर्स विघटन गर्ने तयारी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको पुष्टि गरेका छन्। टास्क फोर्सले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उनले अब यसलाई परिर्वतन गरिने बताए।
उपराष्ट्रपति माइक पेन्सले पनि अबको केही हप्तापछि यो टास्कफोर्स विघटन हुने बताएका छन्। कोरोना भाइरसका कारण अमेरिकामा हरेक दिन एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन्। हालसम्म अमेरिकामा १२ लाख संक्रमित रहेका छन् भने ७० हजारले ज्यान गुमाइसकेका छन्।
टास्कफोर्स विघटन गर्ने बारेमा सोधिएको प्रश्नमा ट्रम्पले ‘विघटनको अर्थ कोरोनासँगको युद्ध समाप्त भएको अर्थ नलाग्ने’ जिकीर गरे । ‘यस्तो बिल्कुल होइन, मिसन तबमात्र पुरा हुन्छ जब कोरोना समाप्त हुन्छ,’ उनले भने। ट्रम्पको ज्वाईँले अर्को टास्कफोर्सको नेतृत्व गर्ने जनाइएको छ, जसले व्यवसाय सुचारु गर्न ध्यान दिने तयारी भइरहेको छ । पत्रकारसँगको कुराकानीमा ट्रम्पले अमेरिकालाई अबको पाँच वर्षसम्म बन्द राख्न नसकिने बताए।
सेना प्रमुखले भने-ल्याबमा कोरोना निर्माण भएको पुष्टि हुँदैन
आफ्ना राष्ट्रपति र विदेशमन्त्रीले कोरोना भाइरसबारे चीनलाई लगाइरहेको आरोपविपरीत अमेरिकाका सेना प्रमुखले यसबारे कुनै प्रमाण नभएको बताएका छन्।
अमेरिकी सेनाका प्रमुख जनरल मार्क विलेले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको भन्ने सबै आशंका र अनुमान गलत भएको बताएका हुन्।
‘कोरोना भाइरस वुहानको प्रयोगशालाबाट उत्पादन गरिएको हो अथवा जंगली जनावरको बजारबाट उत्पन्न भएको हो भन्ने प्रश्नको एकमात्र उत्तर हामीलाई थाहा छैन भन्ने नै हो,’ पत्रकारसँग कुरा गर्दै जनरल विलेले भने।
दुई दिनअघि मात्र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको आरोप लगाउँदै त्यसका पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनविरुद्ध पटक–पटक यस्तै आरोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।