भैरहवा- किट अभावका कारण प्रदेश जनस्वास्थ्य कार्यलय भैरहवामा कोरोना परीक्षण रोकिएको छ। आरटिपिसिआर मेसिनमा प्रयोग हुने एक्सट्रक्सन किटको अभावका कारण परीक्षण रोकिएको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।
किट अभावका कारण बिगत तीन दिनदेखि भैरहवामा कोरोनाको परीक्षण रोकिएको प्रयोगशालाका विशेषज्ञ सुमन सापकोटाले बताए। उनले भने, ‘प्रयोगशालामा सुरुमा २ सय ५० किट आएको थियो। ती सबै सकियो। परीक्षणका लागि आवश्यक किट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पठाउने कुरा छ। आएपछि पुनः परीक्षण सुरु हुन्छ।’
किट अभावका कारण आइतबारदेखि काेराेनाकाे परीक्षण भएको छैन। प्रदेश जनस्वास्थ्य कार्यलय भैरहवामा अहिलेसम्म ३ सय ३७ जनाको नमूना परीक्षण भएकाे जनाइएको छ। हाल नमूना आएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैं पठाउने गरिएको छ।
आरटिपिसिआर मेसिनमा आर.एन.ए एक्सट्रक्सन किट र पिसिआर किट प्रयोग हुने गर्दछ। उक्त प्रयोगशालामा सुरुमा पिसिआर मेसिनबाट परीक्षण गरिएको भएपनि नेशनल प्याथ ल्याबले दिएको आरटिपिसिआर मेसिनमार्फत पछिल्लो समय चेकजाच गरिदैं आएको छ। त्यस्तै संघीय कृर्षि मन्त्रालयले दिएको आरटिपिसिआर मेसिन पनि प्राविधिक समस्याको कारण प्रयोग हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।