काठमाडौं- वैशाख ७ गते गौरीघाटमा बोराभित्र एक पुरुषको लाश भेटियो। अनुहार चिन्न नसक्ने अवस्थामा सडेको लाश भेटिएपछि महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरीले वैशाख ९ गते विष्णुकुमारी राईलाई फोन गरे।
‘गौरीघाटमा एउटा लाश भेटिएको छ। तपाईं तुरुन्त हेर्न आउनुस्’ आफू प्रहरी भएको परिचय दिँदै ती व्यक्तिले फोनमा भने।
‘त्यसपछि मेरो छाति जल्यो। यता छोरो हराएको छ। उता लाश भेटियो भन्दै फोन आउँछ’ बिलखबन्दमा पर्दै बिष्णुकमारी त्यही साँझ गौशाला प्रहरीकहाँ पुग्छिन्।
‘तपाईंको छोराले के-के खान्थ्यो, चुरोट, सुर्ती ?’ हुलिया मिलाउन प्रहरीले विष्णुकुमारीलाई सोधे।
‘चुरोट, गाँजा खाइनै हाल्छन्। अहिलेका केटा, म खाँदैनथ्यो भन्दिनँ’ विष्णुकुमारीले जवाफ फर्काइन्।
‘पाचक पनि खान्थ्यो!’ एउटा हुलिया मिलिसकेकाले प्रहरी केही उत्सुक हुँदै सोध।
‘पहँलो आमपाचक खान्थ्यो। गोजीमै बोकेर हिँड्थ्यो सर’ विष्णुकुमारीले खुलेरै प्रहरीलाई बताइन्।
प्रहरीले सायद हुलिया मिल्दै गएकाले लाश कसको हो भनेर अनुसन्धानमा सहज हुने भयो भन्ने सोच्दै थिए होलान्। तर विष्णुकुमारी यो सबै असत्य होस् भनेर कामना गर्दै थिइन्।
अझ उत्सुक हुँदै प्रहरीले सोधे, ‘अनि सूर्ती पनि खान्थ्यो?’
‘त्यो खाएको देखेको छैन। तर त्यसको ओछ्यानमा मैले सूर्ती भेटेको थिएँ। त्यसको ओछ्यानमा अरुले खाएर राख्दैन। पक्कै खान्थ्यो होला।’ विष्णुकुमारीले छोराको अम्मलबारे बताइन्।
‘तपाईंको भनाइ र लाशको हुलिया धेरै मिलेको छ। भोलि टिचिङ (त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज) लाश हेर्न हिँड्नुस्’ प्रहरीले यसो भन्दै विष्णुकुमारीलाई घर फकाईदिए।
०००
नयाँबानेश्वर जागृतिनगरस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती। थोत्रा टिनले छाएको साना भएको छाप्रोमा बस्छिन् ५८ वर्षीय विष्णुकमारी। गुजारा चलाउन भन्दै उनले त्यही छाप्रोमा सानो किराना पसल पनि सञ्चालन गर्दै आएकी छिन्।
विष्णुकुमारीलाई उनका श्रीमान र २१ वर्षीय छोरा भीमले पसल चलाउन सहयोग गर्दै आएका छन्। टिनको थोत्रो छाप्रोमा भए पनि श्रीमान र छोरासँगै सुखदुःख कटाउन पाउँदा चम्किएका उनका अनुहार अहिले भने मलिन छन्।

गएको दुई महिनादेखि उनको अनुहारको खुसी हराएको छ। शरीर आलस्य छ। उस्तै अवस्थामा छन् उनका श्रीमान पनि। टोलाउनु, थोरै बोल्नु र बेला बेलामा प्रहरीलाई फोन गर्दै विगत दुई महिनादेखिको उनीहरुको दैनिकी बितेको छ।
कारण, दुई महिनादेखि उनका २१ वर्षीय छोरा भीम वेपत्ता छन्। चैत २४ गते दिनभर छोराको पखाईमै टोलाए विष्णुकुमारीका आँखा। तर भीम भने उनका साथी उज्ज्वल काफ्लेसँगै राति ११ बजे घर पुगे।
‘तँ गतिलो छैनस्। यो तेरो साथी पनि गतिलो छैन। ११ बजेरातिसम्म के खोजेर हिँड्छस्? चोरेर हिँडेको? यो राति त चोर, गुण्डा हिँड्छ। ट्याप्पे हो’ मध्यराति छोरा घरमा आएपछि विष्णुकुमारीले रिष पोखिन्।
आमाको गाली भुँइमा खस्न नपाउँदै भीमले प्रष्टिकरण दिए, ‘बास्केटबल खेलेर जितेर आएको। यो ममी पनि यसै कराउँदो रहेछ।’
भीम कक्षा १२ र उज्ज्वल कक्षा ११ शान्तिनगरस्थित एउटै कलेजमा पढ्छन्। विगत एक महिनादेखि भने उज्ज्वल कलेजको होस्टलमा बस्न छाडेर भीमकै घरमा बस्दै आएका थिए।
आमाको गालीले अवाक्क भएका भीमले राति नै म जान्छु भनेर घुर्काए। रिसैरिसमा आमा विष्णुकुमारीले पनि ‘जा’ भनिन्।
त्यसको आधा घण्टामा ५/६ जनाको आवाज आयो। भीम, भीम भनेर बोलाए।
‘राति राति भीम न सिम। छैन भीम। चोर्न जानलाई तिमारु यहाँ गठ बाँधेर आको? कसको घर फोर्न गठ बाँधेको तिमारुले?’ विष्णुकुमारीले छोरालाई बोलाउनेलाई जवाफ फर्काइन्।
राति २ बजेतिर सबैजना फर्केर भीमको घर आए। सुते।
भोलिपल्ट भीमका बाबुलाई गाउँ धनकुटा जानु थियो। बिहान चारै बजे उनी उठेर बाहिरिए। घरबाट निस्कने बित्तिकै छोरालाई गएँ है भन्न बिर्सेछु भन्दै उनी फर्किए।
‘फर्केर आएका बाबुले भीम भीम भनेर बोलाए। फेरि भीम बाबु भने। हँ गरेर बाघ घुरेझै गरो छोराले। म हिँडे, तँ कहीँ नजा। ममीलाई दुःख नदे। ममी पसलमा एक्लै हुन्छ। घरमै बस है बाबु। म गएँ भनेर बाबु निस्किए’ विष्णुकुमारीले त्यस दिनको घटना नेपाल लाइभलाई सुनाइन्।

बेपत्ता भएका भीमबिहान भीमका साथी उठे। चिया बनाए। पिए। भीम भने सुतिरहकै थिए।
‘रातभरी गितांगे, दिनभरी सुतांगे’ भन्दै विष्णुकुमारीले छोरालाई गाली गरिन्।
निद्रामै आमाको आवाज कर्कस मानेर भीमले जवाफ फर्काए, ‘यस्ता सुड्डीको अनुहार पनि हेर्न नपरोस्।’
यतिञ्जेल भीमका अन्य साथी बाहिरिसकेका थिए। त्यसपछि भीम र उज्ज्वल मात्रै उनको घरमा बाँकी भए।
त्यसपछि करिब ११ बजेतिर भीम र उज्ज्वल पनि घरबाट बाहिरिए। फागुन २५ गते घरबाट बाहिरिएका भीमको अहिलेसम्म पत्तोपत्तो छैन।
छोरो घर नफर्किएपछि धनकुटा गएका श्रीमानलाई विष्णुकुमारीले फोन गरेर तुरुन्तै फर्कन भने। विष्णुकुमारीका श्रीमान चैत ३ गते काठमाडौं आइपुगे।
छोरो हराएपछि चैत ८ गते शान्तिनगरस्थित छोरा पढ्ने कलेमा पुगेर घटनाबारे जानकारी गराइन्।
केही दिनअघि मात्रै सेतो ट्याक्सीमा उज्ज्वल, उनका आमा, दिदी आएर होस्टलबाट उज्ज्वलको कपडा लिएर फर्केको जवाफ कलेज प्रशासनले जानकारी दियो।
विष्णुकुमारी भने भीमको साथी उज्ज्वल, उज्ज्वलका आमाको नम्बर लिएर बाहिरिइन्। तर पटक पटक फोन गर्दा पनि उज्ज्वल र उनका आमाले फोन उठाएनन्।
‘चैत ८ गते राति साढे ८ बजेतिर भने उज्ज्वलको आमाको नम्बरमा मेरो छोराले नै फोन उठायो’ विष्णुकुमारीले सुनाइन्, ‘चिन्ता लिनु पर्दैन। म उज्ज्वल को घरमा छु, भोलि आउँछु भन्यो छोराले।’
तर भीम घर फर्किएनन्। चैत ९ गते पनि भीम आफैंले उज्ज्वलको आमाको मोबाइलबाट आमालाई फोन गर्दै घर आउने बताए। छोरोका पर्खाइमा बसेका आमाको आँखा ट्टयाए। तर उनी घर फर्किएनन्।
११ गतेबाट लकडाउन भयो। विष्णुकुमारी हिँड्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर गएर छोरा हराएको भन्दै उजुरी दिइन्। तै पनि छोराको पत्तो लागेन।
वैशाख ७ गते गौरीघाटमा बोराभित्र शव भेटिएपछि महानगरीय प्रहरी वृत गौशालाले विष्णुकुमारीलाई फोन गर्दै लाश हेर्न आउन भनेको थियो।
विष्णुकुमारीलाई सोधपुछ गर्दा हुलिया मिलेपछि प्रहरीसँगै उनी लाश हेर्न टिचिङ अस्पताल पुगिन्।

‘लाश अनुहार नचिनिने रहेछ। खप्परमात्रै छ। गालामा मासु छैन हड्डीमात्रै छ। मेरो छोराको दाँत अली ठूलो थियो। उसको चाहिँ अलि सानो भएर अलिकति खप्टिएको देखियो। मेरो छोराको बुढी औँलामा सानोमा घाउ भएर नङ गएको थियो। पछि नङ पलाउँदा कुच्चिएको थियो। त्यो लासको नङ कुच्चिएको थिएन। नङ र दाँतका कारण छोराको लाश होइन भन्ने लाग्यो’ विष्णुकुमारीले सुनाइन्।
लास हेरेर फर्केपछि बिष्णुकुमारीले गौशाला प्रहरीलाई उज्ज्वलको नम्बर दिएर फर्किइन्।
वैशाख १० गते प्रहरीले उज्ज्वललाई प्रहरी कार्यालय ल्याएर सोधपुछ पनि गर्यो।
तर उज्ज्वलले पहिला आफूसँग भएको र त्यसपछि कता गएको केही थाहा नपाएको प्रहरी समक्ष बताए।
विगत दुई महिनादेखि वेपत्ता भएका भीम अहिलेसम्म वेपत्तै छन्। फोन गर्दै प्रहरीसँग सोधपुछ गर्नुबाहेक उनीहरुसँग कुनै उपाय छैन।
०००
भीम अहिलेसम्म वेपत्ता भएपछि विष्णुकुमारीका आँखा रसाइरहेका छन्। उनी विगत सम्झिन्छन् र रुन्छिन्।
‘यो साह्रै दुःखमा हुर्कियो। मैले चक्रपथ चोकको सडकमा पसल गर्दाखेरी यसलाई पिँठ्युमा बोकेरै लान्थेँ। दिनभरी पसल गर्थेँ। त्यो चक्रपथको बारमा पछ्यौराको छहारी लगाएर सुताउँथे। छाता ओढाइदिन्थे’ रुँदै विष्णुकुमारीले सुनाइन्, ‘नगरपालिकाले एकदिन सुतेकै ठाउँबाट मेरो छोरालाई गाडीमा हाल्यो।
म रुँदै मेरो नानी छ त्यो पोकामा भनेपछि नगरपालिकाले झिकेर ल्याइदियो। त्यस्तो गरेर हुर्काएको थिएँ। अहिले मलाई यस्तो गर्यो।’
छोरा हुर्काउँदाका यस्ता दुःख त विष्णुकुमारीसँग निकै छन्। अहिले ती सबै दुःखभन्दा बढी पीडा छोरा हराएकोमा छ। फर्केर आउने दिनको पर्खाइ उस्तै।
कसैले भीमलाई फेला पारेमा आमा बिष्णुकुमारीको मोबाइल नम्बर ९८४१८०२८१३ स्म्पर्क गरिदिन आग्रह गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।