भैरहवा–भारत गएका नेपालीहरु स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा नेपाल भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु मर्चवार पुगेका छन्। उनीहरुले त्यसो नगर्न जनप्रतिनिधिलाई सचेतसमेत गराएका छन्।
प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको सुरक्षा निकायको टोली रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका–१ स्थित खैराघाट नाका पुगेको हो। टोलीले स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई कोरोनाविरुद्ध लड्नका लागि सीमा क्षेत्रको अनुगमन गर्न आग्रह गरेको छ।
प्रदेशसभा सांसद पाण्डेयले महामारीको सन्दर्भमा कनै जात, धर्म, क्षेत्र र पार्टी नभएकाले जनताको सेवामा नाममा भारतमा रहेका नागरिकहरुलाई नेपाल भित्र्याउने काम नगर्न आग्रह गरे। उनले कोरोना भाइरसले कसैलाई नचिन्ने भएकोले सीमा क्षेत्रमा थप सर्तकता अपनाउन गाउँपालिका अध्यक्ष र वडाध्यक्ष मात्र नभई वडा सदस्यहरु समेत थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
कोटहीमाई गाउँपालिका–१ पुर्निहवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति क्वारेन्टाइनमा पुगेर इमान्दारिता देखाएकाले महामारीबाट बचेको उनले बताए।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक्लो प्रयासले मात्र महामारीविरुद्ध लड्न नसकिने भएकोले प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहेको उनको भनाइ छ। भारतबाट कोही नेपाल फर्केर घरमा बसेको भए क्वारेन्टाइनमा पु¥याउन जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने उनले बताए।
रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले प्रहरी नागरिकको सुरक्षाका लागि चिन्तित रहेको भन्दै जिल्लावासीको सुरक्षाप्रति अझ बढी चिन्तित भइ सुरक्षा सतर्कता बढाएको बताए। सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले प्रहरीलाई दुश्मनको रुपमा नभई सहयोगीको रुपमा बुझ्न आग्रह गरे।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले परिवार, गाउँ र समाज बचाउन केही समयका लागि कष्ट सहनुपर्ने उल्लेख गर्दै सबैलाई सुरक्षित बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।