नयाँदिल्ली-भारतकाे उडिसा राज्यले क्वारेन्टाइनमा बसेकाहरुका लागि थप कडाइ गर्ने भएको छ। मुख्यमन्त्री नवीन पटनायकले क्वारेन्टाइनमा बसेकाहरूलाई नियम तथा मापदण्डहरु कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
उनले भने‚ ‘देशका विभिन्न ठाउँबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ, उनीहरूले क्वारेन्टाइनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ।’ नियमहरु पूर्ण रुपमा पालना नगर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रूपमा उनले लेखेका छन्, ‘उडिसामा विभिन्न राज्यका नागरिकहरु आउनु भएको छ, अहिले तपाईंहरू क्वारेन्टाइनमा बस्नुभएको छ, त्यहाँ बस्दा क्वारेन्टाइनसम्बन्धी नियम कडाइका साथ पालना गर्नुहोला।’
कोरोना भाइरसको सङ्क्रमण उडिसामा अहिलेसम्म नियन्त्रित अवस्थामै रहेकाले क्वारेन्टाइनमा बसेकाहरुले राम्रोसँग नियम कार्यान्वयन गरेमा थप फैलिन नपाउने विश्वास पनि उनले व्यक्त गरेका छन्। नियम पालना नगर्ने वा उल्लङ्घन गर्नेहरुका बारेमा तत्काल स्थानीय प्रशासनलाई जानकारी गराउन उनले सार्वजनिक अपिल पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।