टोक्यो- जापानमा कोरोना भाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी संकटकाल तीन हप्ता लम्ब्याइएकाे छ। जापानमा गत महिना (अप्रिल ७ ) देखि सात राज्यमा एक महिनाका लागि जारी संकटकालअप्रिल १६ मा देशव्यापी बनाइएको थियो। मङ्गलबारदेखि समाप्त हुनै लाग्दा पुनः संकटकाल लम्ब्याउने सूचना आएको हो।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकारी कार्यदलको बैठकमा उक्त घोषणा गरेका हुन्। ‘मैले सरकारी अधिकारी, सार्वजनिक तथा निजी क्षेत्रको समेत सुझावअनुसार आगामी अप्रिल ७ देखि मे ३१ सम्मका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको छु,’ आवेले बैठकमा भने।
उनले थपे, ‘सबै प्रशासनिक क्षेत्रमा यो लागू हुनेछ र संकटकालको पूर्व घोषणामा व्यवस्था भएका कुनै पनि विषयलाई अर्को सूचना नभएसम्म खुकुलो पारिने छैन।’
उनले नागरिकलाई उक्त समय आफू रहेको क्षेत्रबाट अन्य स्थानमा यात्रामा नजान र भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने सम्भावनालाई कम गर्न पुनः आग्रह गरेका छन्। भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
संकटकाल लम्ब्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो। सरकारले उक्त निर्णयलाई पछि संसदलाई जानकारी गराएको छ।
मन्त्री यासुतोशी निशीमुराले संसदमा बोल्दै भने‚ ‘कोभिड-१९ सङ्क्रमितका नयाँ बिरामीहरू घट्ने क्रममा रहेको भए पनि सोचेअनुरूप तीव्र भएन। हामीले सङ्क्रमण दरमा थप कमी आउँदासम्म सामान्य जनजीवनमा फर्किनका लागि पर्खिनुपर्छ भन्ने विज्ञहरूको सुझावअनुसार संकटकाललाई लम्ब्याउनुको विकल्प देखिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।