नयाँ दिल्ली- भारतकाे दिल्ली राज्य सरकारले लकडाउन खुकुलो गर्दै ग्रीन जोनमा रहेका स्थानहरु खुल्ला गरेपछि दिल्लीका मदिरा पसलमा मानिसहरुको लामो लाइन लागेको छ। राज्य सरकारले एक आदेश जारी गर्दै बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म मदिरा पसल खोल्ने निर्णय गरेको थियो।
दिल्लीको देशबन्धु गुप्ता रोडमा बिहान मदिराको पसल खुलेलगत्तै एक किलोमिटर लामो लाइन भएको थियो। दिल्लीकै कश्मिरी गेटमा रहेको मदिरा पसलमा सामाजिक दूरीको नियम उल्लंघन भएको छ। प्रहरीले यहाँ मानिसकाे भीड लागेपछि हटाउन लठीचार्ज गर्नु परेको थियो।
राजधानी दिल्लीबाहेक छत्तिसगढमा पनि मदिराको पसल खुले लगत्तै मानिसको भीड लागेको थियो। कर्नाटक र आन्ध्र प्रदेशमा पनि मदिरा पसल अगाडि पनि मानिसकाे भीड लागेकाे थियाे।
आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुले सामाजिक सञ्जालमा एक भिडियो राख्दै प्रशासनको आलोचना गरेका छन्। मदिरा पसल खुलेसँगै भीड हुने थाहा भएपनि कुनै तयारी नगरेको उनले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।