एजेन्सी–कोभिड–१९ को उपचारका लागि बेलायतका वैज्ञानिकले विकास गरेको नयाँ औषधिको परीक्षण थालिएको छ। साउथह्याम्पटनको युनिभर्सिटी हस्पिटलमा परीक्षण सुरु गरिएको हो।
यसलाई बेलायतको बायो–टेक कम्पनी साइनाइर्जेनले .विकास गरेको हो। भाइरल संक्रमण हुँदा मानिसको शरीरले उत्पादन गर्ने ‘इन्टरफेरोन बेटा’ नामको प्रोटिन यसका प्रयोग गरिएको छ।
यो परीक्षणको प्रारम्भिक नतिजा आगामी जुनको अन्त्यसम्ममा आउने अपेक्षा गरिएको छ।
साइनाइर्जेनका प्रमुख कार्यकारी रिचार्ड मार्सडेनका अनुसार इन्टरफेरोन बेटा भाइरसविरुद्धको प्रतिरक्षाका लागि शरीरको पहिलो पंक्तिको भाग हो, जुन भाइरल आक्रमणको शिकार हुने खतरा हुन्छ। कोरोना भाइरसले शरीरको प्रतिरोधी प्रणालीमाथि आक्रमण गर्न यही प्रोटिनको उत्पादनलाई असर पुर्याउँछ
यो नयाँ औषधि त्यही इन्टरफेरोन बेटालाई मुखले श्वासमार्फत् तानेर सिधै भाइरस भएको स्थानमा पठाउने हिसाबले बनाइएको जनाइएको छ। प्रतिरोध क्षमता कमजोर भइसकेका बिरामीलाई प्रोटिन सिधै दिँदा एन्टी भाइरल प्रतिक्रिया मजबूत हुने बताइएको छ।
इन्टरफेरोन बेटा मल्टिपल स्कलेरोसिस रोगको उपचारमा प्रयोग गरिने औषधि हो। बीबीसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।