काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्।
बिहीबार सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा नेपाली सेनाको अधिकृत क्याडेट तालिमको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति, सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताए।
'देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौती साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनुपर्छ।’
ओलीले २१औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको समेत उल्लेख गरे।
‘यो प्रत्यक्ष हमलाभन्दा पनि कारगार हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सुरक्षाका विविध आयामबारे जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायहरु बीच असरदार समन्वय बनाउनु जरुरी छ।’
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको बताउँदै स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।