काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०औं वर्षमा प्रवेश गरेको छ।२०५८ साल वैशाख २१ गते स्थापना भएको कम्पनीले २०औं वर्ष प्रवेशका अवसरमा नेपाल लाइफका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको जानकारी दिएको छ।
उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध–बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीले प्रदेश १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा १ लाख २१ हजार रकम प्रदान गरेको भने प्रदेश २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा वृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ। सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ।
२०औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बिमा समिति, बिमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन्।
सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरे।
नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको दाबी गरेको छ। २० वर्ष प्रवेश गर्दा कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको कम्पनीका १ लाख ५४ हजार ५ सय ६ जना प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले जानकारी दिएको छ। २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको कम्पनीमा २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति बीमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।