भैरहवा–रुपन्देहीका सांसद र सुरक्षा प्रमुखहरुले कोरोना भाइरस संक्रमण भेटिएको पुर्निहवा गाउँको निरीक्षण गरेका छन्। प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलको टोली उक्त गाउँ पुगेको हो।
रुपन्देहीको कोटहीमाई गाउँपालिका १ स्थित पुर्निहवाका २५ वर्षीय एक पुरुषमा शुक्रबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। वैशाख ५ गते उनी भारतबाट नेपाल आएका थिए।
स्वास्थ्य कार्यालय रुपन्देहीबाट खटिएको स्वास्थ्य टोलीले वैशाख १७ गते नमुना संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो। उनको रिपोर्टमा कोरोना पोजेटिभ आएको हो।
कोटहीमाई गाउँपालिका ५ मझगावास्थित मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका ती व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ।
निरीक्षणपछि बोल्दै प्रदेशसभा सांसद पाण्डेयले हालसम्म प्रदेश ५ र रुपन्देही जिल्लालाई कोरोना भाइरस संक्रमणको हिसाबले ग्रिन जोनको रुपमा भनिए पनि शुक्रबारदेखि केही समस्या देखिएको बताए। उनले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सुरक्षा निकायले प्रयास जारी राखेको बताए। मर्चवार क्षेत्रका नागरिक पनि चेतनशील रहेको उनको भनाइ छ। आम जनताको सहयोग र सुरक्षा निकायको प्रयासले पुनः रुपन्देही जिल्ला तथा प्रदेश ५ ग्रिन जोन नै हुने आफू विश्वस्त रहेको बताए।
गाउँपालिका अध्यक्षहरुसँगको बैठकमा पनि लकडाउको पालना तथा सामाजिक दुरी कायम गर्न नागरिकहरु माझ सचेतना फैलाउन आग्रह गरिएको सांसद पाण्डेयले बताए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी हेमकुमार थापाले कोरोना भाइरसको संक्रमण देखिएको क्षेत्रमा आवतजावतलाई कडाइका साथ नियन्त्रण गरिएको बताए। उनले गाउँमा प्रवेश तथा बाहिर जाने कार्यलाई रोकिएको बताए। कोरोना संक्रमणका विरुद्ध स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम गरिएको थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।