न्युयोर्क-अमेरिकाको न्युयोर्कस्थित एउटा नर्सिङ होममा काेराेना भाइरसका कारण ९८ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
'यो अत्यन्त हृदयविदारक छ,अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,' न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने। एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए।
तीमध्ये १३ जनाको शुक्रबारमात्रै मृत्यु भएको नर्सिङ होमद्वारा जारी वक्तव्यमा जनाइएको छ। नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि नगरिने भएको छ। कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शव यत्तिकै राखिएको छ।
न्युयोर्कलाई कोरोना भाइरसको केन्द्रविन्दु मानिएको छ। कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या धेरै रहेको छ। अमेरिका अहिले कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको अग्रस्थानमा पर्दछ।
शनिबार दिउँसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ। त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ। तीमध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन्।
अमेरिकामा अहिले ९ लाख ४ हजार १५३ जना सङ्क्रमित अवस्थामै रहेका छन् ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।