नयाँ दिल्ली- भारतमा लागू भइरहेको लकडाउनको अवधि फेरी दुई हप्ता थप गरिएको छ।
भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्ब्याउने निर्णय भएको शुक्रबार घोषणा गरेको हो।
भारतमा यसअघि घोषणा गरिएको लकडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो।
प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको विकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो।
लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ।
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ। देशलाई कोरोना भाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाइ छ।
भारतमा केन्द्रीय सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ।
निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साइकल, रिक्सा, अटोरिक्सा, ट्याक्सीलगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।