बेइजिङ-चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा दैनिक कोरोना भाइरसको परीक्षण थालिएकाे छ। विद्यार्थीहरुदेखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको छ।
विद्यार्थीहरु यो परीक्षणका लागि लाम लागेर उभिने गरेका छन्। कक्षा कोठाभित्र छिर्नुअघि उनीहरुको स्वाब परीक्षण गरिन्छ। त्यसपछि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षा कोठाभित्र छिर्न दिने गरिएको बताइएको छ। सांघाई र बेइजिङका विद्यालयहरू गत हप्तादेखि नै खुलेका हुन्। कोरोना भाइरसको महामारीका कारण यी सहरका विद्यालय बन्द थिए।
त्यसैगरी सरकारी तथा निजी कर्मचारीहरुको पनि स्वाब परीक्षण गरेरमात्र कार्यालयभित्र जान दिने गरिएको छ। एक प्रान्तबाट अर्काेमा जानुअघि यो परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएपछि मात्र यात्रा अनुमति दिइने गरिएकाे छ।
यहाँका बायोटेक कम्पनीहरुले पनि कोरोना भाइरसको परीक्षणसम्बन्धी किटहरु निकै ठूलो मात्रामा उत्पादन गर्ने गरेका छन्।
चीनमा अहिले संक्रमणको उच्च सतर्कता अपनाइएको छ। यहीकारण व्यवसाय तथा कार्यालयहरू बिस्तारै खुला गर्न थालिएको छ।
चीनको वुहान सहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि काेरोना भाइरसको प्रकोप देखा परेकाे थियाे। यस संक्रमणबाट चीनमा ४ हजार ५ सयभन्दा बढी मानिसको ज्यान गएको छ। प्रकोप नियन्त्रणमा आएपछि यहाँको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किने प्रयासमा रहेको यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।