काठमाडौ-राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हितअनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवस ९१ मे० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै राष्ट्रपति भण्डारीले सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेकी हुन्।
शुभकामना सन्देशमा उनले मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मानसमेत गरेकी छिन्। ‘श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ,’ सन्देशमा भनिएको छ, ‘यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएकी छु।’
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ।
यस्तै, सन्देशमा राष्ट्रपतिले कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूलता ल्याएकाले यसलाई मध्यनजर गर्दै नेपाल सरकारका आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिक जीवन पनि सामान्य अवस्थामा फर्कने आशा लिएको जनाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।