एजेन्सी–अमेरिकी गुप्तचर संस्था सिआईले कोरोना भाइरस मानिसले नबनाएको बताइरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनको वुहानमै बनाइएको दाबी गरेका छन्। उनले कोरोना भाइरस वुहान इन्सिच्युट अफ भाइरोलोजीमा बनाइएको प्रमाण आफूसँग भएको बताएका हुन्।
बिहीबार आयोजित ब्रिफिङमा वुहानको ल्याबमा उत्पादन गरिएको भन्ने तपाईंसँग के प्रमाण छ भनेर पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भने, ‘मसँग प्रमाण छ, यसमा चीनकै प्रचारप्रसार गर्दा विश्व स्वास्थ्य संगठनलाई लाज लाग्नुपर्ने हो, उसले चीनको जनसम्पर्कको जस्तै गरी काम गरिरहेको छ।’
उनले भने, ‘मलाई थाहा छैन चीनले यस्तो गल्तीले गर्यो कि जानी जानी, या कुनै लक्ष्य प्राप्तिका लागि, मैले बुझ्न पनि सकिरहेको छैन कि हुबेईका नागरिकलाई चीनका अन्य भागमा जाने अनुमति थिएन, तर अरु देशमा जान दिइएको थियो, पूरै चीनमा आवतजावत गर्न प्रतिबन्ध थियो तर विश्वभर जान कुनै रोकतोक थिएन। यो सार्है नराम्रो भयो। यो अप्ठेरो प्रश्न हो र यसको जवाफ पाउन बाँकी छ।’
कोरोना भाइरसका कारण विश्वभर हालसम्म ३२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख ३१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।