एजेन्सी–कोरोना भाइरस संक्रमण देखिएपछि रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन अस्पताल भर्ना भएका छन्। रुसमा एकैदिन ७ हजार ९९ जनामा संक्रमण देखिएकै दिन प्रधानमन्त्री मिशुस्तिनमा पनि पोजेटिभ देखिएको हो। रुसी टेलिभिजनहरुले राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई उपचार गर्न भनेको दृश्य प्रसारण गरेका छन्। रुसमा कोरोना संक्रमण भएका पहिला वरिष्ठ अधिकारी हुन्।
गत जनवरीमा प्रधानमन्त्री भएका उनी यतिखेर कोरोना महामारी नियन्त्रणका लागि सक्रिय छन्। उनी अस्पताल भर्ना भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री एन्द्रेई बेलुसोभलाई दिइएको छ।
राष्ट्रपति पुटिनले भिडियो कलका क्रममा प्रधानमन्त्री मिशुस्तिन निकै सक्रिय व्यक्ति भएको भन्दै धन्यवाद दिएका थिए।
रुसमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ भने हालसम्म १ हजार ७३ जनाको मृत्यु भएको छ। धेरै जनसंख्या र ठूलो क्षेत्रफल भए पनि तुलनात्मक रुपमा रुसमा कम मानिसको मृत्यु भएको छ। राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले रुसी पहलका कारण इटाली हुनबाट बचाएको जनाएका छन्।
तर राष्ट्रपति पुटिनले भने कैयौं क्षेत्रमा स्वास्थ्यकर्मी र चिकित्सकका लागि यथेष्ट मात्रामा व्यक्तिगत सुरक्षा उपकरण नभएको बताएका छन्। मस्कोका मेयर सेर्जेइ सोब्यानिनले राजधानीका बासिन्दाहरुले अवस्था कति गम्भीर छ भन्ने कुरा अझै महसुस नगरेको टिप्पणी गर्दै धेरैले प्रतिबन्धहरु उल्लंघन गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।