सोउल- दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएयता बिहीबार पहिलो पटक कुनै पनि संक्रमित नभेटिएकाे त्यहाँकाे
स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। दक्षिण कोरियामा गत फेब्रअरीदेखि कोरोना भाइरसको संक्रमण फैलिन थालेको थियाे।
कोरियाको रोग नियन्त्रण तथा न्यूनीकरण केन्द्रमा बिहीबार कुनै पनि संक्रमितकाे विवरण दर्ता नभएको उल्लेख गरिएको छ। अहिलेसम्म यहाँ १० हजार ७ सय ६५ जना संक्रमित भएका छन् भने २ सय ४७ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसबाट कुनै पनि नयाँ व्यक्ति संक्रमित भएको विवरण नआएको दिनलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले खुसीयालीको दिनका रुपमा स्मरण गरेका छन्। उनले यस्तो खुसीकाे दिन आउनुमा आम नागरिकको सामूहिक प्रयासबाट सम्भव भएको उल्लेख गरेका छन्।
'हाम्रो देशका कोरोना भाइरसको संक्रमण फैलिएको ७२ दिन भएको छ, आज दिनभरि कुनै पनि व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको विवरण नआएको पहिलो दिन हाे,’ राष्ट्रपति मुनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
काेराेना नियन्त्रणमा पाएको सफलताकोे विश्व स्वास्थ्य सङ्गठनलगायत विश्व समुदायले कोरियाली स्वास्थ्य सेवाको प्रशंसा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।