काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ‘सांसद विकास कोष’ खारेज गर्न माग गरेको छ। कोरोना संकटपछिको आर्थिक संकटसँग जुध्न निर्वाचन क्षेत्रका लागि छुट्याइएको रकम खारेज गर्न माग गरिएको हो।
बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम हटाउन माग गरेको हो। कांग्रेसले कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि सांसद विकास कोष हटाउन भनेकाे हाे।
सांसद विकास क्षेत्रका लागि विनियोजन गरिँदै आएको नीति खारेज गरेर कोरोनाविरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न कांग्रेसले माग गरेकाे छ। निर्वाचन क्षेत्रमा सांसद विकास कोषका नाममा विनियोजन गर्ने कार्यक्रमलाई नाम परिवर्तन गरी स्थानीय पूर्वाधार विकास साझेदारी बनाइएको थियो। नीति निर्माणमा लाग्नुपर्ने सांसदलाई रकम विनियोजन गर्ने विधि अनुपयुक्त रहेको भन्दै विरोध हुँदै आएको थियो।
यस आर्थिक वर्षमा प्रति निर्वाचन क्षेत्रमा सांसदलाई ६ करोडका दरमा रकम विनियोजन गरिएको थियो।
दुई दिनअघि कांग्रेसले बोलाएको अर्थविदहरुको बैठकमा सांसदलाई निर्वाचन क्षेत्रमा रकम बाँड्न नहुने सुझाव दिएका थिए। कांग्रेस सांसद दिलेन्द्र बडुले स्थानीय पूर्वाधार विकास साझेदारीको खर्च हुन बाँकी रकम कोरोना रोकथाम र नियन्त्रणमा स्थानान्तरण गर्न सुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।