एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पाँचौ सन्तानका बाबु बनेका छन्। उनकी प्रेमिका क्यारी सिमन्ड्सले शिशुलाई जन्म दिएसँगै उनी पाँचौ सन्तानका बाबु बनेका हुन्। बेलायती समयअनुसार बुधबार बिहान जन्मिएका बालक र आमा दुवैको स्वास्थ्य राम्रो रहेको सिएनएनले जनाएको छ।
क्यारी र जोन्सनबाट सन्तान जन्मिए पनि दुवै औपचारिक विवाह भने भएको छैन। सन् २०२० फेब्रुअरीमा उनीहरूले विवाह गर्ने घोषणा मात्र गरेका थिए।
क्यारीबाट जन्मिएका शिशु बोरिसको पहिलो सन्तान भने होइन। यसअघिकी श्रीमतीबाट उनका चार सन्तान छन्।
राजनीतिक गतिविधिमा सघाउँदै आएकी क्यारीसँग पछिल्लो समय उनी नजिकिएका थिए। श्रीमतीसँग डिभोर्स भएपछि भने प्रधानमन्त्री जोन्सन र क्यारी सँगै बस्दै आएका थिए।
कोरोना भाइरस संक्रमणपछि गम्भीर बिरामी भई आइसियूमा भर्ना भएका प्रधानमन्त्री जोन्सन निको भएर सोमबार मात्र नियमित काममा फर्किएका छन्। जोन्सनलाई कोरोना संक्रमण भएपछि भने उनकी गर्भवती प्रेमिका क्यारी पनि आइसोलेसनमा बसेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।