काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुई अध्यादेश खारेज गरेकी छन्। आजको मन्त्रिपरिषद् बैठकले ८ बैशाखमा पारित गरी राष्ट्रपतिद्वारा जारी गरिएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेको जनाएका हुन्। मन्त्रिपरिषद्को बैठकको निर्णय प्रधानमन्त्रमार्फत् राष्ट्रपतिसमक्ष पेश भएपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।
संविधानमा संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेका अध्यादेश राष्ट्रपतिले नै जुनसुकै बेला खारेज गर्नसक्ने प्रावधान छ। धारा ११४ (२, ख) मा भएको त्यही व्यवस्था बमोजिम राष्ट्रपतिले अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।