काठमाडौं- वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक साँझ ५ बजे सुरु हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगावै पार्टी एकता गर्ने तयारी गरे पनि आवश्यक गृहकार्य नपुग्दा एकता प्रक्रिया लम्बिएको छ। वाम गठबन्धनमा आबद्ध दुवै दल एमाले र माओवादी केन्द्र कम्युनिस्ट पार्टी स्थापनाको दिन बैसाख ९ गते एकताको औपचारिक घोषणा गर्न सहमत छन्।
कार्यदलले दिएको सुझाव अनुसार बैसाख ९ मा एकता गर्न दुवै दल तयारी गरिरहेका छन्। एकीकृत पार्टीको चुनाव चिह्न र एकताको सांगठनिक आधारमा दुवै पार्टीबीच कुरा मिल्न बाँकी छ।माओवादीले समानताका आधारमा बराबरी हैसियतमा पार्टी एकता हुनुपर्ने अडान लिएको छ।
एमालेले सांगठनिक स्वरुप र जनमतको आधारमा एकताको आधार प्रस्तुत गरेको छ। सोही कारणले दुवै दलको एकता प्रक्रियामा गतिरोध पैदा गरेको छ।
वाम कार्यदल जिल्ला कार्यक्रममा
पार्टी एकता प्रक्रियाको बैठक काठमाडौंमा बस्ने तयारी गरिरहँदा वाम कार्यदलका सदस्य गृह जिल्लाका कार्यक्रममा व्यस्त छन्।
कार्यदल सदस्य एवं एमाले नेता सुवासचन्द्र नेम्वाङ जिल्ला कार्यक्रममा सहभागी हुन झापा पुगेका छन्। त्यस्तै माओवादी नेता देवेन्द्र पौडेल समेत गृह जिल्लाको कार्यक्रममा सहभागी हुन बाग्लुङमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।