राजविराज– कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिएको हुन सक्ने आशंकामा शनिबार सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर (पारुहाङ्ग चौक) का ७५ जनाको र्यापिड टेस्ट (आरडिटी) गरिएको छ।
उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमित १२ जना भारतीय नागरिक त्यहाँको मस्जिदमा पनि बसेर गएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा पुगेकाहरुको आरडिटी गरिएको हो। ७५ जनाको टेस्ट गरिएको नगरपालिकाका मेयर उत्तमकुमार गौतमले जानकारी दिए।
७५ मध्ये १७ जना भारतीय नागरिक हुन्। विवाह कार्यक्रममा सहभागी हुन आएका उनीहरु लकडाउनका कारण घर फर्कन नसकेको स्थानीयको भनाई छ। टेस्टको नजिता भने आएको छैन। २/३ घण्टापछि नतिजा सार्वजनिक हुने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।
यसैगरी, संक्रमितहरु बसेर गएको वडा नं. २ को सिद्धिपुर तथा वडा नं. ४ को वलार्दह स्थित मस्जिद असापासका टोलमा पनि आरडिटि गरिने गौतमले बताए। ‘आईतबार दुवै ठाउँको टेस्ट गर्ने योजना छ,’ उनले भने, 'वडा नं. १, २ र ४ मा गरी करिव १ सय २५ घरका ६ सय जनसंख्याको बसोबास छ।'
उदयुपरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमित भारतीय नागरिक सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ तीनदेखि ५ सम्म भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएका थिए।
उनीहरु सप्तकोशी नगरपालिकाका विभिन्न मस्जिद हुँदै उदयपुरको चौदण्डिगढी नगरपालिका ५ स्थित सिवाई मस्जित पुगेका थिए। त्यहा ५ दिन वसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको पाईएको छ।
संक्रमितहरुले सप्तकोशीमा भएका तीन वटै मस्जिदमा लामो समय विताएको पाईएपछि सिङ्गो नगरवासी त्रसित भएका छन्। उनीहरुका कारण सप्तकोशीमा पनि धेरैलाई संक्रमण फैलिएको हुन सक्ने आशंका वढेपछि आरडिटि टेस्ट सुरु गरिएको नगरपालिकाले जनाएको छ।
कोरोना संक्रमित व्यक्तिहरु वसेर गएको प्रमाणित भएपछि वडा कार्यालयहरुले आ–आफनो वडा सिल गरिएको घोषणा गरेका छन्। मानिसको चहलपहल नियन्त्रण गर्न सेना समेत परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।