इटहरी- प्रदेश १ मा पहिलोपटक एकैदिन १२ जना कोभिड-१९ संक्रमित भएको पुष्टि भएपछि जोखिम बढेको भन्दै प्रदेश सरकारले संवेदनशील भएको बताएको छ। प्रदेश १ मा घरबाहिर निस्किएको पाइए सिधै क्वारेन्टाइनमा पुर्याउने योजना तय गरिएको प्रदेश प्रहरीले जनाएको छ।
उदयपुरको एक मस्जिदमा भेटिएका १२ संक्रमित अहिले विराटनगरको कोभिड-१९ विशेष अस्पतालको आइसोलेसनमा छन् भने उनीहरुसँगैका ४ जनालाई विराटनगरमै क्वारेन्टाइनमा राखिएको छ।
कोभिड-१९ बाट जोगिन सरकारले एक महिनादेखि लकडाउन गरेको छ। तर लुकीछिपी रातीको समयमा हिड्ने र मस्जिद परिवर्तन गर्ने क्रम नरोकिएपछि अहिले प्रदेश १ का मस्जिदमा कडा निगरानी थालिएको बताइएको छ।
सुनसरीले कोरोना जोखिमबाट बच्न उदयपुरको सिमा जोडिएको सबै नाका सिल गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले भने घरबाहिर निस्किए सिधै क्वारेन्टाइनमा पुर्याइने चेतावनी दिएको छ।
प्रदेश १ प्रहरी कार्यलयका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाका अनुसार शनिबारबाट प्रहरीले जनशक्ति थप गरेर लकडाउन पालनामा कडाइ गरिएको छ। खाद्य सामग्री बाहेकका कुनै पनि सवारी आवतजावत हुन नदिने गरी कडाई गरिएको उनले बताए। आवतजावत पूर्णतया बन्द हुने र बाटोका हिँडेको भेटिए सिधै क्वारेन्टाइनमा पुर्याइने उनको भनाइ छ। त्यसमा पनि विशेषगरी मोरङ र सुनसरीमा बढी कडाइ गरिएको एसपी तिम्सिनाले जानकारी दिए।
प्रदेश १ कोरोना भाइरसको उपचार र आइसोलेसनमा खटिने जनशक्तिको अभाव देखिएको छ। चिकित्सक अभावमा थप बिरामी आए समस्या हुने कोशी अस्पतालकी निर्देशक डा संगीता मिश्रले बताइन्। कोरोना संक्रमितको उपचारमा चिकित्सक खटाउँदा अरु बिरामी उपचारबाट वञ्चित हुने भएकोले जनशक्ति थप गर्नपर्ने उनले बताएकी छ। यसका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ। 'संक्रमितको संख्या थपिए यही जनशक्तिबाट उपचार गर्न समस्या हुन्छ,' उनले भनिन्।
प्रदेश १ सामाजिक विकाशमन्त्री जीवन घिमिरेले भने प्रदेश १ मै भएका जनशक्ति अधिकतम उपयोग गरिने बताएका छन्। संकटका घडीमा चिकित्सक र सुरक्षाकर्मीको भूमीका उल्लेखनीय रहने भन्दै उनले सक्दो सहयोगको लागि अपिलसमेत गरेका छन्।
हालसम्म प्रदेश १ मा २ सय ५३ स्थानमा ४ हजार ४ सय ४७ क्वारेन्टाइन बेड निर्माण भएका छन्। ५ सय ९९ जनालाई क्वारेन्टाइनमा र ४ हजार १९ जना प्रहरीको निगरानीमा होम क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यस्तै ५३ स्थानमा ४ सय ४९ वटा आइसोलेसन कक्ष निर्माण गरिएको र केही दिनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सयभन्दा बढी आइसोलेसन कक्ष थप हुन लागेको छ।
प्रदेशका ४ स्थानमा ४४ वटा मात्र आइसीयू कक्ष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।