राजविराज–उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमित १२ भारतीय नागरिक सप्तरीका विभिन्न मस्जिद हुँदै उदयपुर प्रवेश गरेको खुलेको छ। उनीहरुमा कोरोना पुष्टि भएपछि उदयपुरसहित सप्तरीको सप्तकोसी नगरपालिकामा पनि त्रास सुरु भएको छ।
सप्तरीको वोदेबर्साइन नगरपालिका ५ जाँजरमा फागुन ३ देखि ५ सम्म भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएका उनीहरु फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई मस्जिद पुगेका थिए। त्यहाँ ५ दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको वडाध्यक्ष देवनारायण चौधरीले बताए।
त्यसअघि फागुन २२, २३ र २४ गते सप्तकोसी नगरपालिका १ स्थित मस्जिदमा वसेर उनीहरु उदयपुरतर्फ लागेको स्थानीय मोहम्मद मुर्तजाले जानकारी दिए। यसअघि वडा नम्बर ४, वलार्दह र वडा नम्बर २, सिद्धिपुरस्थित मस्जिदमा पनि उनीहरुले करिब एक साता बिताएको जनाईएको छ।
सप्तरी हुदै उदयपुर पुगेका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार गौतमसहितको टोली राति नै वडा नम्बर १ स्थित मस्जिदमा पुगेको थियो। मस्जिद क्षेत्रको मुस्लिम टोललाई सिल गर्ने निर्णय भएको गौतमले वताए । उक्त टोलमा १ सय ३५ जनाको बसोबास छ। ‘उनीहरुलाई घरबाट ननिस्कन भनेका छौं,’ उनले भने, ‘शनिबार नै सबैको आरडीटी परीक्षण गर्ने तयारी गरिएको छ।’ सिद्धिपुर र वलार्दहको मस्जिद क्षेत्रका मुस्लिमहरुको पनि आरडीटी परीक्षण गराईने गौतमको भनाइ छ।
संक्रमितहरुले सप्तकोसीमा भएका तीन वटै मस्जिदमा लामो समय बिताएको पाईएपछि सिङ्गो नगरवासी त्रसित भएका छन्। उनीहरुका कारण सप्तकोसीमा पनि धेरैलाई संक्रमण फैलिएको हुन सक्ने स्थानीयको अनुमान छ।
वडा नं. १ स्थित मस्जिद क्षेत्रमा अझै पनि ११ भारतीय नागरिक बसोबास गरिरहेको स्थानीयले वताएका छन् । उनीहरु पाहुनाका रुपमा बसिरहेको पाईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।