काठमाडौं- नेप्से परिसूचकमा १७ दशमलब ५५ अंकको गिरावट आएर मंगलबार १ हजार २ सय १० दशमलब २३ को विन्दुमा आइपुगेको छ।
मंगलबार कारोबार रकममा उल्लेख्य मात्रामा गिरावट आएको छ। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आउँदा लगानीकर्तामा निरासा छाएको छ। सोमबारको बजारमा परिसूचक घटे पनि कारोबार रकममा वृद्धि हुँदा लगानीकर्ता हौसिएका थिए।
मंगलबार १ सय ६० कम्पनीको ३४ करोड ९० लाख ५१ हजार ७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सोमबार ९४ करोड ९६ लाख २९ हजार ३ सय ९ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
मंगलबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। त्यसमध्ये बीमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहमा ९४ दशमलब ६३ अंकको गिरावट आएको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ६९ दशमलब ५८ अंकको गिरावट आएको छ। जलविद्युत् समूह ४० दशमलब ५८ अंकले घटेको छ।
मंगलबार बुटवल पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको १ करोड ३६ लाख ८९ हजार ९ सय १६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कम्पनीले सोमबार नै २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।
त्यस्तै, नबिल बैंकको १ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने युनिलिभर नेपालको ९६ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
मंगलबार स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४ रुपैयाँ अर्थात् ७ दशमलब ९९ प्रतिशतले बढेको छ। त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले बढेको छ।
यता, मंगलबार सर्वाधिक गुमाउनेमा हाम्रो विकास बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ अर्थात् ७ दशमलब ५ प्रतिशतले घटेको छ। त्यस्तै, तारा गाँउ रिजेन्सीका लगानीकर्ताले प्रतिकित्ता १९ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।