बुटवल- रुपन्देहीको सैनामैनाका बाबुराम थापाको मृत्यु भएको ११ दिनपछि परिवारले शव बुझेका छन्। उनकाे कोरोना भाइरसको संक्रमणकाे आशंकामा बुटवलको कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे थियाे।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि उपचारका क्रममा ज्यान गुमाएका थापाको शव बुझ्न परिवारले सहमति जनाएकाे हाे। छलफलमा सहभागी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले श्रीमतीलाई रोजगारी, छोराहरुको निःशुल्क शिक्षा र तत्कालको लागि आर्थिक व्यवस्थापन जुटाइदिने सहमतिपछि परिवार शव बुझन राजी भएको जानकारी दिए।
खनालले भने, ‘मृतककी श्रीमतीलाई सैनामैना नगरपालिकाले रोजगार दिने, दुई छोरोलाई १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने, तत्कालको आर्थिक व्यवस्थापनको लागि प्रदेश सरकारले ८ लाख ४१ हजार नगद रकम उपलब्ध गराउने सहमति भयो।’ थापाकी श्रीमती रीताले पनि छलफलपछि शव बुझ्ने सहमति भएको जानकारी गराइन्।
पीडित पक्षको माग सम्बोधन गर्न सरोकारवाला पक्षलाई चौतर्फी दबाबको लागि मानव अधिकारकर्मी र नागरिक समाज लागि परेको थियो।
पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भएका थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरा गरेर बस्दै आएको छ। दुबईबाट चैत्र ६ गते नेपाल फर्किएका थापालाई नेपाल आएदेखि ज्वरो आएको र स्थानीय मेडिकलबाट औषधि खाएर बसेका थिए। ज्वरो र श्वासप्रस्वासमा समस्या बढेपछि उपचारका लागि चैत १३ गते उनी लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए।
अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो। उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो।
कोरोना आशंकामा मृत्यु भएका थापाको बुधबार अबेर एघारौं दिनमा अन्त्येष्ठी गरिएको छ। थापाको शव अस्पतालका कर्मचारीहरुले शबदाह गृहसम्म पुर्याएका थिए।
मृतककी श्रीमती रीता र दुई छोराहरुलाई एम्बुलेन्समा ल्याईएको थियो। मृतकका दाजु बिमल थापा, पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मीहरु गोविन्द खनाल, पदमबहादुर कार्की, पाल्पाली सम्पर्क समाजका जगत पोखरेल, मुक्तिराज पौडेल र प्रहरीको रोहबरमा शवलाई स्थानीय अस्पतालका कर्मचारीहरुले ट्याक्टरमा योगीकुटीस्थित मगर घाटमा लगेका थिए।
कोरोना आशंकामा मृत्यु भएकाले थापाको शव उठाउने अस्पतालका ३ जना कर्मचारीहरुले पर्सनल प्रोटेक्सन इक्युमेन्ट (पिपिई) लगाए सावधानी अपनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।