काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को जोखिम कम गर्न गरिएको लकडाउन पनि तेस्रो साता लागिसक्यो। घरभित्र थुनिएर दिन जति बित्दै छन् अत्यास र दिक्दारीका मेसोहरु उति बढिरहेका छन्। यसले सधैँ खेल र अभ्यासमा व्यस्त भइरहने खेलाडीहरुमा पनि फरक मनस्थितिको सिर्जना भइरहेको छ।
नेपाली करातेका एक स्टार खेलाडी जो यतिबेला लकडाउन जीवनमा आफ्नो खेल सम्झिरहेका छन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई वटा स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ आफ्ना दुई छोरी र श्रीमती उषा तामाङ श्रेष्ठसँग घरैमा बसेर लकडाउनका दिनहरु बिताइरहेका छन्।
मण्डेकाजी आफ्ना एक १० वर्ष र अर्की १० महिनाकी दुई छोरीसँग पहिलो पटक यतिलामो समय बिताइरहेका छन्। परिवारलाई धेरै समय दिन पाएको खुसी पनि अब त अत्यासले जित्ला जस्तो भइसक्यो। उनी भन्छन्, ‘हामी घरभित्रका बन्द कैदी हौं।’
विश्व खेलकुद क्षेत्र ध्वस्त हुँदा यसको प्रत्यक्ष मार खेलाडीमा छ। झनै नेपाली खेलाडीमा त यसको चपेटा बढी देखिन्छ। कतिपय खेलाडीमा दैनिक गुजारका समस्या नआउँदै सम्बन्धितहरु चनाखो बनिसक्नुपर्नेछ।
यसै सन्दर्भमा रहेर स्वर्ण विजेता खेलाडी मण्डेकाजीले लकडाउन कसरी कटाइरहेका छन् र कोरोना भाइरस (कोभिड १९) बाट जोगिन कस्ता सावधानी अपनाइरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर नेपाललाइभका सरोज तामाङले कुराकानी गरेका छन्–
लकडाउन अझ थपिँदो छ, यस्तोमा दिनहरु कस्तो हुँदैछ?
त्यही हो, बिहान उठ्यो। आफै अभ्यास गर्ने अनि खायो, बस्यो। दिउँसोतिर परिवारसँग बसेर कुरा गर्छु। यस्तै त हो।
अहिले कोरोनाले विश्वब्यापी रुपमा महामारी ल्याएको छ। यो बेला कसरी सुरक्षित हुने भन्ने नै हो। त्यसैले घरैमा बस्दै सावधानी अपनाउनुको विकल्प छैन।
बेला बेला घरका लागि आवश्यक पर्ने सामग्री किन्न त जान्छु। त्यो बाहेक चाहिँ बाहिर निस्किने गरेको छैन। निस्किने अवस्था पनि त छैन।
घर वरपरको वातावरण चाहिँ अहिले कस्तो छ?
यो बेला वरपरको वातावरण त शुन्य नै छ। बिहान र साँझ चाहिँ पसलहरु हल्का खुल्छन्। खाने कुरा त चाहियो नै। त्यही भएर पनि सुरक्षा अपनाउँदै वरपरका पसलहरु खुल्ने गरेको छ।
लकडाउनले केही समस्या त आइपरेको छैन नि?
अहिलेसम्म समस्या त परेको छैन। अस्ति एक दिन चाहिँ मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बोलाउनु भएको थियो र गएँ। विभिन्नहरुलाई खाद्यान्न सहयोग गर्ने कुरा रहेछ। खेलाडीको तर्फबाट प्रतिनिधित्व गरिदिन आइदिनु भनेपछि भो भन्न सकिनँ।
सामाजिक हितमा लाग्नु त खुसीकै कुरा हो तर अहिले त जोखिम पनि छ नि,
त्यो दिन मध्यपुर ठिमी नगरपालिकाको सात र आठ नम्बर वडामा सहयोग गरिएको थियो। सुरक्षित हुने सबै कुरामा विचार गरिएको थियो। कोरोना लाग्नबाट बच्नु पर्ने सबै सावधानी अपनाएका थियौं। त्यहाँ कुनै त्यस्तो जोखिम थिएन।
कोरोनाको त्रास त छँदै छ। हामीलाई जुनसुकै समयमा लाग्न सक्छ। त्यहि भएर त अहिले देशमै लकडाउन छ। तर कतिपय त यस्ता नागरिकहरु छन्, जो एक छाक खान पाइरहेका छैनन्।
बिहान काम गरेर बेलुका खानु पर्ने अवस्था धेरैको छ। उनीहरुको लागि यो समयमा चाहिँ हामीले पनि केही सहयोग गर्नु पर्छ। वडा कार्यालयहरुसँग समन्वय गरेर गर्नु पर्ने हुँदा अहिले त्यस्तो कुनै राहत कार्यक्रम छैन। खानै मुस्किल हुने मान्छेहरुको विचार चाहिँ गर्नैपर्छ।
कोरोनाका बारेमा सुनिरहँदा, विश्वभर मानिसहरु ज्यान गुमाएको खबर देख्दा डर हुने रहेछ?
डर त भइहाल्छ नि। किनभने एउटा सानो गल्तिको कारण यहाँ ठूलो क्षति हुन सक्छ। हामी भन्दा पनि सम्पन्न राष्ट्रहरुले त रोकथाम गर्न सकिरहेका छैनन्। उनीहरुको अवस्था निकै नाजुक छ।
हाम्रो देशमा कोरोना नियन्त्रण बाहिर गयो भने के होला? सोच्दा पनि डर लाग्छ। त्यसैले हामीले पहिले नै कोरोनाबाट बच्न उपायहरु अपनाउनु पर्छ।
यस्तो समयमा एक खेलाडीलाई स्वस्थ रहन गर्नुपर्ने व्यायामको आवश्यकता कति छ?
सेल्फ ट्रेनिङ एकदमै आवश्यक छ। खेलाडी भएपछि एकदमै महत्वपूर्ण पक्ष भनेकै फिटनेस हो। लकडाउन सुरु भएपछि खायो सुत्यो बाहेक अन्य काम केही काम छैन। त्यस्तै, हाम्रो ट्रेनिङको कुनै कमि नआहोस भनेर सेल्फ ट्रेनिङ गर्ने गरेको छु।
अर्को पक्ष हामी कोरोनासँग लड्दा लड्दै अर्को रोग लाग्न सक्छ। त्यसैले स्वस्थ रहनका लागि पनि व्यायामको आवश्यकता छ।
प्रशिक्षकसँग अभ्यास लिँदा निकै फाइदा हुन्छ। तर सेल्फ ट्रेनिङ गर्दा त्यस्तो त हुँदैन। खल्लो त भइहाल्छ। दालमा नुन नपुगेको जस्तो त हुन्छ तर के गर्नु बाध्यता हो।
यतिका लामो समय राम्रो अभ्यासबिना बस्दा पहिलेको खेल लयमा आउन समस्या पो हुने हो कि?
त्यसमा पनि डर छ। आफूलाई चाहिने कुरा घरमा बसेर मात्र हुँदैन। हल, अभ्यास सामग्री, लगायत धेरै कुराको आवश्यक पर्छ। तर घरमा बसेर यी सबै कुरा पाइँदैन। स्टामिना त्यसै घटिरहेको छ। तर त्यस्तो नहोस् भनेरै विहान बेलुका आफै घरमा अभ्यास गर्ने गरेको छु।
कोरोनाले तपाइँको कुनै खेल सहभागिता रोकियो?
राष्ट्रिय प्रतियोगिता थियो हाम्रो, त्यो सरिनै हाल्यो। म अस्ट्रेलिया ओपनमा पनि भाग लिन जान लागि रहेको थिएँ। त्यो पनि भएन।
अर्को त झनै थाइल्यान्डमा एक कार्यक्रमको लागि जानु पर्ने थियो। त्यसको लागि टिकटदेखि सबै काम भइसकेको थियो। तर लक डाउन भइ हाल्यो। थाइल्यान्डमा मलाई सम्मान गर्ने कार्यक्रम पनि थियो।
१३औँ साग खेलकुदमा स्वर्ण पदक जितिसकेपछि काठमाडौंमा विभिन्न संघ संस्थाले सम्मान गर्ने धेरै कार्यक्रमहरु थियो, त्यो पनि स्थगित भयो।
पहिलो पटक हो, तपाई यति लामो समय घरमा बस्नु भएको?
हो, मेरो यो पहिलो पटक हो। २५–२६ वर्ष भयो, खेल खेल्न थालेको। यति लामो समय घरमा बस्नु परेको थिएन। खेलकुदमा लागेपछि सधैँ अभ्यास र प्रतियोगितामै बित्यो समय। तर यो पटक कोरोनाले घरभित्रको कैदी बनाएको छ।
परिवारसँग चाहिँ कस्तो कुराकानी हुन्छ अहिले?
श्रीमती बैंकर हुन्। हप्ताको एक दिन अहिले उनी बैंक जानु पर्छ। कुराकानी त त्यही हो, कोरोना नै। अहिले यसकै त छ चर्चा।
खेलाडी साथीहरु तथा संघका पदाधिकारीसँग कुराकानी भइरहेको छ?
भइरहेको छ। जस्तो राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट पनि खेलाडीलाई के कस्तो छ भनेर सोधखोज गर्नु भएको थियो। आफ्नै क्लबले पनि खेलाडीलाई समस्या पो परेको छ कि भनेर फोनहरु गरिरहेको हुन्छ।
भन्न मन भएका कुरा अरु केही छ?
सरकारले विदेशबाट ल्याएका मान्छेलाई अलिक राम्रोसँग क्वारेनटाइनमा राख्न सकेन कि जस्तो लाग्छ। जो विदेशबाट आउनु भएको छ उहाँहरु पनि क्वारेनटाइनमा बस्न मान्नु भएन कि जस्तो लाग्छ। त्यस्तो नगरिदिएको भए हुने। उहाँहरुकै लागि हो। विदेशबाट आएकालाई राम्रोसँग राखिएको भए फैलिने थिएन।
भारतमा अहिले कोरोनाले निकै भयानक रुप लिएको छ। खुला सिमानाको कारण त्यसको जोखिम यहाँ पनि बढी छ।
यसतर्फ सरकारले उचित कदम चाल्नु पर्छ। कोरोना नलाग्न दिनका लागि बेलैमा सुरक्षाका उपायहरु अपनाउनु पर्छ जस्तो लाग्छ। यसो गरेमा हामी बाँच्न सकिन्छ नत्र त नेपालमा पनि भयानक अवस्था आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।