केदार श्रेष्ठ थिएटर मल किर्तिपुरका निर्देशक हुन् । उनी लकडाउनका बेला थिएटर मलको फेसबुक मार्फत् पुराना नाटकहरुको लाइभ भिडियो देखाउन सक्रीय छन् । थिएटरको समय नै पारेर हरेक दिन पाँच बजे नाटक देखाइरहेका छन् उनी। लकडाउनमा थिएटर बन्द भएपनि नाटक हेर्ने र देखाउन विकल्पसहित सक्रिय श्रेष्ठसँग नेपाल लाइभकर्मी प्रजु पन्तले यही सन्दर्भमा गरेको कुराकानीः
क्वारेन्टाइनका दिनहरु कसरी बितिरहेका छन् ?
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्नु एक हप्ता अघि नै नाटक घरहरु बन्द भइसकेको थिए। हामीले बालबालिकालाई लक्षित गरेर नाटक कार्यशाला सञ्चालन गर्ने सोचमा थियौं।
त्यो केही गर्न पाइएन । हामी त कलाकार पढ्ने, लेख्ने, फिल्महरु हेर्ने, नाटकहरु हेर्ने गरेर नै दिन बितिइरहेको थियो। तर, यसरी मात्रै बसेर हुन्न भन्ने लाग्यो । अनि लकडाउन गरेको तीन दिनपछि फेसबुक लाइभ मार्फत् नाटक प्रस्तुत गर्नुपर्छ भन्ने लाग्यो । अहिले त दिनको १५ घण्टा जस्तै काममा खटिएका छौं।
अघिपछि भन्दा व्यस्त हुनुभयो कि क्या हो ?
हो नि । थिएटर मलमा १० बजे तिर गइन्थ्यो ५-६ बजे फर्किन्थ्यौँ । अहिले त बिहान ७ बजे कम्प्युटरमा बसेपछि रातको १२ बजेसम्म अल्झिइन्छ। झन् धेरै काम पो गरिएको छ।
कतिपय कलाकारले सरकारले कलाकारको प्रयोग गर्न जानेन् भनेका छन् तर तपाईं आफ्नै तरिकाले अघि बढिरहनुभएको छ। कसरी आयो यो अवधारणा?
कलाकारलाई सरकारले प्रयोग गर्ने भन्ने कुरा नै गलत हो । कलाकारलाई कसैले प्रयोग गर्ने होइन। आह्वान गर्ने हो । गम्भीर अवस्थामा परिचालन गर्ने हो। सरकारले पनि परिचालन गर्ने हो । कलाकार नागरिकसँग नजिक हुने भएको हुँदा कतिपय विषयहरु कलाकार मार्फत् लैजाँदा प्रभावकारी हुन्छ । कलाकारले सरकारले यसो भन्ला, उसो भन्ला, अनि गरौंला भनेर बस्नु पनि भनेको गलत हो । आफ्नो क्षेत्रमा जे गर्न सकिन्छ, त्यो गर्ने हो।
समस्याको समयमा नागरिकसँग कसरी नजिक भएर बस्ने भन्ने कुरा कलाकार आफैंले पहिल्याउने हो । कलाकारहरु सिर्जनशील आदेश कुर्ने हैन सिर्जना गर्ने हो।
अनि धारणा कसरी आयो भन्ने कुरा नि?
मलाई के लाग्छ भने, रगंमञ्च भनेको त जहिले पनि आम नागरिकको लागि हो । यही समाजको लागि नाटक लेखिने हो। प्रत्येक नागरिक सँगसँगै हुने हो । यस्तो बेलामा झन् आम नागरिकसँग जोडिनुपर्नेमा घरमै थन्किनु पर्यो भन्ने मनमा आयो । फिल्म हेर्दाहेर्दै फिल्महरु देखाइरहेको छ भने नाटक पनि त सकिन्छ भन्ने विचार आयो । भर्चुअल रुपमा भएपनि हामी नजिक हुन सक्छौं भन्ने लागेर काम गरियो।
कसरी संयोजन गर्नुभयो ?
फेसबुक मार्फत् देखाउने भनेपछि हामीले यो आयोजना गर्नुको उद्देश्य सहित फेसबुक पेजमा राख्यौं। धेरै राम्रो प्रतिक्रिया आयो। ज-जसले नाटक पठाइरहनुभएको छ, उहाँहरुलाई फोन गरेकै हैनौं। हाम्रो देशमा नाटक घरहरु पनि धेरै छैनन्। संयोजन गर्न गाह्रो छैन । एउटा थिएटरले गरेको कामलाई अन्य थिएटरहरुले पनि आफ्नै सम्झेर सघाउने चलन छ। यो अभियानमा पनि हामीले सवैको साथ पायौं।
फेसबुक पेजमा राखेकै आधारमा हामीलाई कल गर्नुभयो र नाटकहरु पठाउनुभयो । हामीसँग टन्नै नाटक छन् । अझ कतिपयले त नाटक थिएटरमा भएर छुटेको दिन पाइनँ भनिरहनुभएको छ।
नाटक धेरै नै संकलन भएका छन् भन्नुभयो के आधारमा छनौट गर्नुभएको छ त ?
‘क्वारेन्टाइनमा नाटक उत्सव अभियान’को सुरुवात जसरी उत्साहपूर्वक भयो । अहिले पनि उत्तिकै उत्साह छ । नेपालका थिएटरबाट मात्र होइन, हामीलाई बाहिरबाट पनि नाटक आएका छन्। भारत र थाइल्याण्डबाट नाटकहरु आए। यस हिसाबले भन्ने हो भने यो उत्सव अन्तर्राष्टिय बन्न पुगेको छ । हामीले नाटक प्रस्तुत हुने मापदण्ड भनेर तोकेका त छैनौं तर भिडियो राम्रो भएका, हामीलाई राम्रो लागेका र दर्शकबाट त्यो समयमा धेरै रुचाइएका नाटक प्रस्तुत गरिरहेका छौं।
प्रतिक्रिया कस्तो पाउनुभएको छ?
सुरुको दिन हामीलाई हेर्ने १५ हजार जति हुनुहुन्थ्यो । यो फ्लो बढ्दो छ । मैले सोचेको पनि थिइनँ यति राम्रो प्रतिक्रिया आउँछ भनेर । दर्शकहरुको प्रतिक्रियाले हामी उत्साहित छौं।
नाटक भिडियोमा देखाउँदा दर्शकले थिएटरमै गएर हेरेको जस्तो त हुन्न होला है?
मैले जहिले पनि नाटक प्रस्तुत गर्ने बेला भनेको छु, थिएटरमा हेर्दा जुन फि आउँछ नि भिडियोमा हेर्दा ५० प्रतिशत पनि हुँदैन भनेर । भिडियोहरु पनि थिएटरहरुले डकुमेन्टसनको लागि मात्रै बनाउने भएकाले त्यति क्वालिटीको हुन्न। तर यो समयको लागि उत्तम विकल्प नै यही हो।
लकडाउन बढ्यो भने फेरि नाटक लाइभ पनि बढाउनुहुन्छ ?
अब चाहिँ थपिन्न होला । १४ दिन अथवा १५ दिनको दिनमा हामीले दिनैभरि नाटक देखाउने योजनामा छौं। चैतको २७\२८ गतेसम्म मात्र हुन्छ होला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।