काठमाडौं– फिल्म ‘दिमाग खराब’ गत शुक्रबारबाट नेपाल र अन्य देशहरूमा एकैसाथ प्रदर्शनमा आयो। बिहीबार अचानक फिल्मका निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूले समान सेयर बाँडबाँट र पर्याप्त शो नदिएसम्म नेपालमा प्रदर्शन रोक्ने निर्णय गरे।
दर्शकहरूको चाप बढिरहेको बेलामा अचानक किन यो निर्णय गर्न पुग्यो त? नेपाललाइभले निर्देशक बस्नेतसँग फोन सम्पर्क गर्दा उनले फिल्म चले पनि हलवालाहरुका कारण लगानी नै नउठ्ने अवस्था आएपछि यो निर्णय गर्नुपरेको बताए।
यस्तै छ उनको भनाइको सम्पादित अंश:
हाम्रो फिल्ममा सुरुवाती दिनमा दर्शकहरू कम थिए। दोस्रो दिनबाट शो घटाइयो। मैले केही भनिनँ। विस्तारै ‘वर्ड अफ माउथ’का कारण हलहरू हाउसफूल हुन थाले।
अघिल्लो हप्ता त हाम्रो घाटा नै भयो। दोस्रो हप्ताबाट दर्शकहरूको चाप बढिरहेको छ। तर शो भने घटिरहेको छ। यो त अन्याय भयो नि। फिल्म हलमा प्रदर्शन भएपछि हल र निर्माताबीच पहिलो र दोस्रो हप्ता पचास/पचास प्रतिशत शेयर बाँडफाँट हुन्छ। तर दोस्रो हप्तामा शो पनि कम दिएको छ।
तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको पनि लाग्छ। हाम्रो फिल्मको लगानी नै ४ करोडमाथि छ। लगानी नै नउठ्ने भएपछि हलमा प्रदर्शन गर्नुको के अर्थ र?
यसकारण फिल्मको नेपालमा प्रदर्शन रोकेको हो। बरु अन्य माध्यमबाट दर्शकहरूलाई फिल्म देखाउँछौं। हलहरूले पर्याप्त शो र समान सेयर बाँडबाँट नगरुन्जेल फिल्म हलहरूमा प्रदर्शन गर्दैनौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।