काठमाडौं- बलिउड अभिनेता सलमान खानको 'दबंग टुर नेपाल'को मिति पुनः घोषणा गरिएको छ।
कृष्णसार सिकारको मुद्दामा दोषी ठहर भएर जमानतमा रिहा भए लगत्तै नेपालको कार्यक्रमको मिति सार्वजनिक भएको हो। उनी शनिबार धरौटी तिरेर जेलबाट छुटेका थिए।
सलमान जेलबाट छुटेको केही घन्टामै नेपालको आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टलाई एक पत्र पठाउँदै दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको थियो। पत्रमा उनको नेपाल कन्सर्ट जेठ १२ गते शनिबार उल्लेख गरिएको छ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल आउनेछन्।
यसअघि फागुन २६ का लागि सलमानको कार्यक्रम तय भए पनि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीले स्थगित गर्न दबाव दिएसँगै मिति सारिएको आयोजकले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।