बुटवल–प्रदेश ५ सरकारले प्रदेशका प्रमुख तीन सहरमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण प्रयोगशाला निर्माण गर्ने जनाएको छ। सरकारले प्रदेश ५ सरकारका मुख्य तीन सहर भैरहवा, नेपालगञ्ज र दाङमा परीक्षण प्रयोगशाला निर्माण गर्ने भएको हो।
प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भैरहवाको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा तीन दिनभित्र कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गरी सेवा सुरु गर्ने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।
नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने व्यवस्था मिलाउने र उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी सो अवधिभर खानपिनको व्यवस्था गर्न समेत निर्देशन दिइएको प्रेस सल्लाहकार केसीद्वारा जारी नोटमा उल्लेख छ ।
बैठकले निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्न, त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्न र यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउनसमेत निर्देशन दिएको छ।
यसैगरी, १२ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एम्बुलेन्स चालकका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराउने भन्दै त्यसको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले किसानले खेती स्याहार्ने बेला भएकाले लकडाउनको अवस्थामा कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिनलगायतका उपकरण सञ्चालनका लागि गाउँपालिका र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने जिम्मेवारी प्रदान गरिएको प्रेस सल्लाहकारद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।