हेटौंडा- प्रदेश नं ३ को सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदको तलब सुविधासम्बन्धी विधेयक प्रदेशसभामा पेश गरेको छ।
प्रदेशसभाको आइतबारको बैठकमा छलफलका लागि पेश गरिएका विधेयकमा मुख्यमन्त्रीका लागि रु ६० हजार ९७० पारिश्रमिक प्रस्ताव गरिएको छ। त्यस्तै, सञ्चार खर्च रु ५ हजार र अतिथि सत्कारका लागि रु १० हजार प्रस्ताव गरिएको छ। मुख्यमन्त्रीका लागि दैनिक भ्रमण भत्ता रु ३ हजार र विदेश जाँदा दैनिक २५० डलर प्रस्ताव गरिएको छ।
मुख्यमन्त्रीका लागि आवास, सुरक्षा प्रयोजनका लागि आवश्यक परे थप एक सवारी साधनसमेत उपलब्ध गराउन सकिने विधेयकमा प्रस्ताव गरिएको छ।
त्यस्तै, प्रदेशमन्त्रीका लागि रु ५२ हजार, राज्यमन्त्रीका लागि रु ४९ हजार र सहायकमन्त्रीका लागि रु ४७ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ। प्रदेश मन्त्रीलाई सञ्चार खर्चबापत रु ३ हजार र अतिथि सत्कारका लागि रु ५ हजार प्रस्ताव गरिएको छ।
यस्तै, राज्यमन्त्री र सहायकमन्त्रीले समान रु २ हजार सञ्चार र ३ हजार अतिथि सत्कार खर्च पाउनेछन्। प्रदेश मन्त्रीले दैनिक भ्रमण भत्ता रु २ हजार ५ सय र विदेश भ्रमणमा जाँदा २ सय अमेरिकी डलर तथा राज्यमन्त्री र सहायकमन्त्रीले दैनिक भ्रमणभत्ता रु २ हजार र विदेश भ्रमणमा जाँदा दैनिक १७५ अमेरिकी डलर पाउने प्रस्ताव गरिएको छ।
विधेयकमा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई आवास सुविधा दिने प्रस्ताव गरिएको छ भने निजी घरमा बस्ने मन्त्रीलाई वार्षिक रु एक लाख ३० हजार, राज्यमन्त्रीलाई रु एक लाख १० हजार र सहायकमन्त्रीलाई रु एक लाख घर मर्मत खर्च दिन प्रस्ताव गरिएको छ।
सबै मन्त्रीलाई एकमुष्ट रु एक लाख फर्निचर खर्च, भाडाको घरमा बस्ने मन्त्रीलाई रु २७ हजार, राज्यमन्त्रीलाई रु २५ हजार र सहायकमन्त्रीलाई रु २० हजार घरभाडा दिइने प्रस्ताव गरिएको छ। आफ्नै घरमा बस्नेले घरभाडा लिन पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।