काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको तीन दिने राजकीय भ्रमणबाट नेपाल र भारतबीच विश्वासमा अभिवृद्ध भएको बताएका छन्। भारत भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको वक्तव्य सुनाउँदै दुवै देशबीच विश्वासको वातावरण बनेको उल्लेख गरेका हुन्।
वक्तव्यमा भनिएको छ, 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको औपचारिक वार्तामा विगतमा भएका सम्झौता र सन्धि कार्यान्वयनका पक्षमा हामीले जोड दिएका छौं।'
यस्तै, विषयगत रुपमा नेपालको व्यापार घाटा न्यूनीकरण गर्ने र पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा ठोस कुराकानी भएको उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओली साँझ साढे ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री ओली गत शुक्रबार भारत भ्रमणमा गएका थिए। ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट गरेका थिए। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।