नयाँ दिल्ली- कोरोना भाइरस संक्रमित भएकी गायिका कनिका कपुरको तेस्रो परीक्षणमा पनि पोजेटिभ देखिएको छ। उनले यसअघि आफूलाई संक्रमण नरहेको भन्दै अस्पतालको परीक्षणमा प्रश्न उठाएका थिइन्।
कनिकाले प्रश्न उठाएपछि अस्पतालले तेस्रो पटक परीक्षण गरेको हो। बलायतबाट फर्केकी उनी केही समयपछि मात्र अस्पताल पुगेकी थिइन्। परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएपछि उनीसँग भेटघाट गरेका मानिसहरु पनि सेल्फ क्यारेन्टाइनमा बसेका थिए। उनले लखनउमा आफ्ना साथीहरु र परिवारसँग पार्टी गरेकी थिइन्।
कनिकाकाे यो गैरजिम्मेवारपनका लागि धेरैले आलोचना गरेका थिए। तर, सामाजिक सञ्जालमा उनको विरोधसँगै सर्मथन पनि गर्नेहरु थिए। कनिका बलिहुडकी लोकप्रिय गायिका हुन्। उनका बेबे डोल, चिट्टिया कलाइया र लबलीजस्ता चर्चित गीत रहेका छन्।
उनको जन्म र लालन–पोषण लखनउमा भएको थियो। १८ वर्षमै उनले विहे गरेकी थिइन्। उनी विहेपछि १९९७ मा पति राज चन्डोकका साथ लन्डन गएकी थिइन्। उनले प्रेम विवाह गरेकी हुन्।
तीन बच्चा जन्मेपछि उनले पतिसँग सम्बन्ध विच्छेद गरिन् र भारत फर्किइन्। कनिकाले २०१२ मा जुगनी जीका साथ आफ्नो गायन सुरु गरेकी थिइन्। यो पाकिस्तानी सुफी गीत अलिफ अल्लाहको रिमिक्स भर्सन थियो।
उनकाे खास चर्चा भने २०१४ मा सनी लियोनले अभिनय गरेको चलचित्र रागिनी एमएमएस २ को गीत बेबे डोलले दियो। त्यसपछि उनले चिट्टिया कलाइया र लबलीजस्ता गीतबाट सुपरस्टार भइन्। कनिका कपुरले कुनै समय भनेकी थिइन् ‘म निकै निरास भइसकेको थिए, यही समयमा मलाई बेबी डोल गाउने अवसर मिल्यो, अनिमात्र मलाई हार नमान्ने कारण मिल्यो।’
उनको उपचार सञ्जय गान्धी पीजीआई अस्पतालमा भइरहेको छ। उनले उपचार राम्रो नभएको, अस्पतालको खाना राम्रो नभएको र सुविधा पनि नभएको भन्दै आलोचना गरेकी छन्। उनको यो प्रतिक्रियापछि अस्पताले पटकपटक खण्डन गरेर सकेसम्म सुविधा दिएको बताएकाे छ।
२६२ मध्ये ६० जनाको नेगेटिभ रिपाेर्ट
कनिका कपुरको सम्पर्कमा आएका ६० जनाको कोरोना रिपाेर्ट नेगेटिभ आएको छ। यसरी टेष्ट गरिएकामा नेताहरु पनि रहेको छन्।
कनिका पुगेका र भेटेका सबै पत्ता लागेको प्रहरीले जनाएको छ। त्यस्तै कनिका पुगेका पसल र सैलुनहरु पनि पत्ता लगेको र त्यहाँका मानिसहरुसँग नियमित सम्पर्कमा रहेको सरकारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।