एजेन्सी- घरमै बस्न गरेको आग्रह पटक पटक उलंघन भएपछि बेलायत सरकारले नागरिकलाई अनावश्यक काममा घरबाट निस्कन रोक लगाएको छ।
कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले अत्यावश्यक काम बाहेकको अवस्थामा घरबाट ननिस्कन आग्रह गरेको थियो। तर, दण्डनीय बनाएको थिएन।
नागरिकले सरकारको आग्रह अस्विकार गर्दै पव र समुन्द्री किनारामा भेला हुन थालेपछि बेलायती प्रधानमन्त्रीले अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर निस्किए जरिवाना लाग्ने घोषणा गरेका छन्।
सोमबारबाट लागू हुने सो नियम अनुसार खाना र औषधी किन्न, बिहान एक पटक एक्सर्साइज गर्न र घरबाट गर्न नसकिने अबस्थामा कार्यालय जान र आउन मात्र छुट दिएको छ।
त्यो बाहेक धार्मिक र वैवाहिक समारोहमा समेत रोक लागेको छ।
बेलायतमा कोरोना भाइरसको संक्रमित बढेपछि प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन्।
बेलायतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघिसक्यो भने ३ सय बढिको मृत्यु भएको छ।
जोन्सनले टेलिभिजनबाट सम्बोधन गर्दै इटलीकै अवस्थामा पुग्न २-३ हप्ता मात्र बाँकी रहेको चेतावनी दिँदै घरमै बस्न आग्रह गरेका थिए।
'साथीले भेट्न बोलाए भने नाई भनौं,' उनले भने, 'एकै घरमा बस्ने बाहेकका परिवारका सदस्यलाई पनि नभेटौं। सुरक्षित रूपमा घरमै बसौ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।