काठमाडौं- लगानीकर्ताले आइतबारदेखि कारोबार रोक्का गर्नुपर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा अनुरोध गरे पनि अर्थमन्त्रालयले नमान्दा कारोबार सुरु भएको छ। बिहीबार बोर्डले नेप्से, ब्रोकर, लगानीकर्ताका संघ संस्थाहरुसँग छलफल गरेको थियो।
छलफलमा ब्रोकरहरुले कारोबार सञ्चालन गर्न नसकिने जानकारी दिएका थिए। अझै पनि सेयर कारोबार पूर्ण रुपमा अनलाइन कारोबार नभैसकेको हुनाले कारोबार रोक्का गर्न माग गरेका थिए। कारोबार अनलाइन प्रणालीबाट हुने भए पनि राफसाफ र पैसा कारोबारका लागि ब्रोकर कार्यालयमा उपस्थित हुनुपर्ने भएकाले अहिलेलाई कारोबार रोक्का गर्न माग गरिएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए।
सम्पूर्ण लगानीकर्ता संघ संस्थाहरुले तत्काल कारोबार रोक्का गर्न ब्रोकर नेप्से तथा अर्थमन्त्रालयका पदाधिकारीहरुसँग अनुरोध गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार कारोबार गर्न असहज भए पनि अर्थमन्त्रालयले सहमति दिन नसक्दा कारोबार रोक्का गर्न नसकिएको हो।
बोर्डलाई अधिकतम एक साताको लागि कारोबार रोक्का गर्ने अधिकार छ। त्यसभन्दा धेरै दिनको लागि कारोबार रोक्का गर्नु परेमा मन्त्रालयको निर्देशन आवश्यक पर्छ। मन्त्रालयले सेयर 'लिक्वीड एसेट' भएको हुँदा तत्काल बन्द गर्न नहुने धारणा राखेको थियो। सेयर कारोबार अनलाइन प्रणालीबाट हुने हुँदा ब्रोकर कार्यालयमै पुग्नु पर्ने बाध्यता नभएको मन्त्रालयको तर्क छ।
यदि अहिले कारोबार रोक्का गरिएन भने अनलाइनमार्फत् कारोबार बढ्ने मन्त्रालयको तर्क छ। तर, माग अनुसार कारोबार बन्द नभएपछि लगानीकर्ताहरुले नेप्से कार्यालय पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।