विराटनगर- नेपाली सेनाले प्रदेश १ मा २ सय क्वारेन्टाइन बेड निर्माण गरेको छ। मोरङको मिक्लाजुङ नगरपालिकामा २ सय बेड क्वारेन्टाइन निर्माण गरिएको जानकारी सेनाले दिएको हो। प्रदेश १ सरकारको निर्णयअनुसार कोरोना भाइरसको संक्रमणको शंका लागेकालाई राख्न क्वारेन्टाइन बेड निर्माण गरिएको हो।
फागुन २९ गते मन्त्रिपरिषद बैठकबाटै प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणविरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो।
सरकारको निर्णयअनुसार नेपाली सेनाले पहिलो चरणमा मिक्लाजुङ-५ टाँडीमा २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको हो। सेनाले १ सय वटा टेन्ट राखेर २ सय बेडको क्वारेन्टाइन बनाएको नेपाली सेनाका २ नम्बर बाहिनीपति यामप्रसाद ढकालले जानकारी दिए। 'नेपाली सेनाको टोलीले दुई दिन लगाएर क्वारेन्टाइन निर्माण गरेको हो। तत्कालका लागि २ सय बेड रहने र आवश्यकताअनुसार थप गर्न सकिने छ,' उनले भने।
विश्व स्वास्थ संगठन (डब्लुएचओ)को मापदण्डअनुसार क्वारेन्टाइनस्थल बनाएको जानकारी दिँदै सेनाले त्यसमा प्राविधिक र अन्य जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने बताएको छ। यसबाहेक झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहने गरी क्वारेन्टाइन बनाएको पृतना मुख्यालयले जनाएको छ।
क्वारेन्टाइनमा औषधि, अन्य प्राविधिक सामान र स्वास्थ्यकर्मी खटाउन भने बाँकी छ। प्रदेश सरकारले संक्रमणको सूचना तत्काल प्राप्त गर्नेदेखि परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र औषधोपचार गर्नेसम्मका सबै र व्यवस्थापनको योजना तयार पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।