काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुबोधकुमार कर्णसँग स्पष्टीकरण सोधेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्रपछि आइक्यानले आफ्ना पूर्वअध्यक्षसमेत रहेका कर्णसँग स्पष्टीकरण सोधेको हो।
अनियमित हिसाबले विराटनगर जुट मिलको शेयर बिक्री भएको विषयमा लेखापरीक्षणका क्रममा कुनै प्रश्न नउठाइ कानुनी दायित्वबाट बिमुख भएको भन्दै उद्योगमन्त्री लेखराज भट्टले कारबाहीको प्रक्रिया अघि बढाउन आइक्यानलाई पत्र पठाएका थिए। न्यायिक आयोगको सिफारिसबमोजिम कर्णमाथि कारबाही अघि बढाउन नियमनकारी भूमिकामा रहेको आइक्यानलाई मन्त्री भट्टले पत्र पठाएका हुन्।
'उद्योग मन्त्रालयबाट प्राप्त पत्रका आधारमा हामीले यो विषयमा जानकारी गराउन पत्र पठाएका हौँ,' आइक्यानका कार्यकारी निर्देशक सञ्जयकुमार सिन्हाले भने। आइक्यानले कर्णको नाममा पत्र पठाएको छ। केन्द्रीय बैंक सञ्चालक समितिका सदस्य कर्णले आफ्नो फर्म सुबोध एसोसिएट्सबाट जुट मिलको लेखापरीक्षण गरेका थिए।
विराटनगर जुट मिलको सेयर धितोपत्र ऐन विपरीत निष्काशन र बिक्री हुँदा पनि लेखापरीक्षणका क्रममा कुनै टिप्पणी नगरी कानुनी दायित्व विमुख भएको भन्दै मन्त्रालयले कर्णमाथि हदैसम्मको कारबाहीका लागि आइक्यानलाई पत्र पठाएको थियो। फागुन २१ गते मन्त्री भट्टले मन्त्रिस्तरीय निर्णय गर्दै कर्णमाथि कारबाहीका लागि पत्र पठाएका हुन्।
विराटनगर जुट मिलको शेयर पूर्वमन्त्री अनिलकुमार झा, प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलिया तथा विराटनगर जुट मिल सञ्चालक समितिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नीलहरि काफ्लेले किनेका थिए। उच्च अदालतका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठन भएको न्यायिक आयोगले जुटमिलको सेयर बिक्री कानुन विपरीत भएको ठहर गरेको थियो।
आफ्ना सञ्चालकमाथि कारबाहीको सिफारिस भएको विषयमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका अधिकारीहरुले पनि छलफल गरेका छन्। यो विषय नेपाल लाइभमार्फत बाहिर आएपछि राष्ट्र बैंकका निवर्तमान गभर्नर डा चिरंजिबी नेपालसहित सञ्चालक समितिका सदस्यहरुले अनौपचारिक छलफल गरेका हुन्।
यो विषयमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि चासो राखेका छन्। अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार अर्थमन्त्री खतिवडा र अर्थसचिव शिशिरकुमार ढुंगानाबीच पनि छलफल भएको छ। आइक्याले कर्णमाथि स्पष्टीकरण सोध्ने विषयमा मन्त्री खतिवडा मंगलबार नै जानकार थिए।
उद्योग मन्त्रालयले पठाएको पत्रमा विराटनगर जुट मिलले गैरकानुनीरुपमा व्यक्तिलाई सेयर बिक्री गरी सरकारको सेयर अनुपात घटाएको र सरकारलाई थाहै नदिई सेयर कारोबार गरेको फेला पारेर पनि लेखापरीक्षकले कुनै टिप्पणी नगर्नुले कर्ण कानुनी दायित्वबाट विमुख हुन खोजेको ठहर भएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।