भैरहवा । रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ८ गतेदेखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । समपूर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा हुने प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ ।
तिलोत्तमा–१४, सुपौलीस्थित समपूर्ण युवा क्लबको मातहतमा रहेको बाउन्नकोटी सामुदायिक वनको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष अबिर पुन पाईजाले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको मुख्य प्रायोजन लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रा.लि., तिलोत्तमा–१४, टिकुलीगढले गरेको छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाईजाले प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले १ लाख ६० हजार ६६० रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताए ।
प्रतियोगितामा रुपन्देहीसहित स्याङ्जा, पाल्पा र नवलपरासीका गरी १२ टोली सहभागी हुने खेल समितिका प्रचारप्रसार संयोजक रवि अर्यालले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।
वि.सं. २०७६ सालमा स्थापना भएको समपूर्ण युवा क्लबले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।