काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका समयमा पूर्ण र आंशिक बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको बेपत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नाम समावेश छ। उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि समावेश गरिएको छ।
आयोगको सूची अनुसार सबैभन्दा धेरै बेपत्ताको उजुरी बर्दियाबाट परेको छ। बर्दियाका २ सय ५४ जनाको नाम बेपत्ता भएको सूचीमा छ। सूचीअनुसार दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बेपत्ताको सूचीमा छन्।
सशस्त्र द्वन्द्वको इपिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उजुरी परेको छ। रोल्पाबाट ९७ रुकुमबाट ४५ जनाको मात्रै बेपत्ता पारिएको भन्दै उजुरी परेको छ।
आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भए आयोगको टोल फ्री नम्बर १६६०-०१-२२१११ मा सम्पर्क गरेर सूचना दिन सकिने बताएको छ। त्यस्ता सूचना तथा प्रमाण उपलब्ध गराउन भने कुनै समय समय तोकिएको छैन।
आयोगका अनुसार त्यस्ता सूचना तथा प्रमाण आफ्नो अनुकूल समयमा पठाउन सकिने छ।
आयोग भन्छ- मन्त्री मगर आशिंक बेपत्ता
बेपत्ता पारिएको छानबिन आयोगले भने मन्त्री मगरको उजुरी आशिंक बेपत्ताका रुपमा परेकाले उनको नाम पनि त्यसै अनुसार समावेश गरिएको जनाएको छ।
आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेले प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धानमा गएका उजुुरीलाई सार्वजनिक गरिएको बताए। नेपाल लाइभसँगको कुराकानीमा घिमिरेले दिएको प्रतिक्रिया जस्ताको तस्तै-
हामीसँग दर्ता भएको उजुरी हो। प्राप्त उजुरीमा हामीले पहिले प्रारम्भिक छानविन गर्यौं। हामीले अहिले राखेको २ हजार ५ सय ६ वटा चाहिँ विस्तृत छानविनमा गएका उजुरी हुन्। यसमा पूर्ण बेपत्ता पनि हुनुहुन्छ र आशिंक बेपत्ता पनि हुनुहुन्छ। आशिंक बेपत्ता भनेको पहिलो बेपत्ता भएर पछि सम्पर्कमा आउनु भएकोहरु हो। मन्त्री बिना मगरको पनि आंशिक बेपत्ता भनेर उजुरी परेको हुनाले त्यहाँ नाम रहेको हो। अब हामीले यही विषयमा विभिन्न सूचना, जानकारी, प्रमाणहरु संकलनका लागि आह्वान गरेका छौं।
केही समय बेपत्ता भएकोलाई आशिंक बेपत्ता भनेर स्वीकार गरिएको हो। मन्त्री मगर वा अरुकै बारेमा पनि अवस्था यस्तो हो भनेर प्रमाण आए आयोगलाई टुंग्याउन सजिलो हुन्छ। विस्तृत छानविन अन्तर्गत उहाँको बयान लिने। पीडकहरु कोही खुल्छ भने उनीहरुको पनि बयान साउनदेखि लिने भनेर बयान कक्ष स्थापना गर्दै छौं।
सबै अनुसन्धान सकिएपछि आशिंक बेपत्ता छ भने के गर्ने, पूर्ण बेपत्ता छ भने के गर्ने भनेर टुंगो लाग्छ। आयोगले यसमा निर्क्योल गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।